म्याग्दी- अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुन ​भारतीय सेनाबाट निवृत्त क्याप्टेन हुन्।

पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँत फर्किएका छन्।

तिलिजा पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन्।

‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो’, बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन। गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जीवितै छ। छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु।’

बलबहादुरले स्वाँतमा प्यारामिड होटल शुरु गरेका छन्। उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो।

दुई रोपनी पाखो सम्माएर होटलका संरचना तयार पार्न एक करोड ८० लाख रूपैयाँ खर्चेको बलबहादुरले बताएका छन्।

‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन’, उनले भने, ‘होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो।’

गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ।

पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन्। एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन्।

चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाटाको छानोमा नथुप्रियोस भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाइ छ।

होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ।

चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ। काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाताले छाइएको छ।

तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन्।

पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापनदेखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन्।

सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो र मकैको ढिँडो होटलका परिकार हुन्।

अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिखबाट एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ।

स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ।

खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ। होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ।

स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौं, चितवन, बुटवल र बेलायतमा छ।

७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए।

​स्थानीयवासी मनबहादुर पुनका अनुसार कच्ची सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोबाइल सुविधा पुगेको छ।

व्यावसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्बर जमिन छ।

रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत। ‘रित्तिदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो’, बलबहादुरले भने, ‘अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो।’