मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो, जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ ।जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ ।
रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ ।
शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ, अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ ।
मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ । विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन् ।
जोखिम भए पनि मधुमेह भएका आधाभन्दा धेरै मानिसहरूलाई यो रोगबारे थाहा नै छैन । तर जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ ।
कसरी हुन्छ मधुमेह ?
किशोरावस्थामा पनि बढी तौल र निष्क्रिय जीवनशैली भएका व्यक्तिमा तथा निश्चित समुदायका व्यक्तिहरू विशेष गरी दक्षिण एशियाली समुदायमा यस्तो समस्या देखिएको छ ।
खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ ।
पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थीले इन्सुलिन होर्मन उत्पादन गर्छ, जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ ।
तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ ।
त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ ।
कति प्रकारका हुन्छन् मधुमेह ?
मधुमेह कैयौँ प्रकारका छन् ।
‘टाइप वन डाइअबीटीज’ भनिने मधुमेहमा प्यान्क्रिअसले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । त्यही भएर ग्लुकोज रगतमा जम्मा भएर बस्छ ।
किन यस्तो हुन्छ भन्ने वैज्ञानिकहरूलाई स्पष्ट कारण थाहा छैन । तर उनीहरू आनुवंशिक वा भाइरल सङ्क्रमणका कारण प्यान्क्रिअसबाट इन्सुलिन उत्पादन हुने कोशिकाहरू नष्ट भएको हुन सक्ने ठान्छन् ।
मधुमेह भएकामध्ये झन्डै १० प्रतिशत मानिसमा टाइप वन डाइअबिटीज भएको हुन्छ ।
टाइप टू डाइअबीटीज हुँदा प्यान्क्रिअस ग्रन्थीले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन ।
यो समस्या अधिकांश अधबैँसे उमेरका मानिस र वृद्धवृद्धालाई हुन्छ ।
किशोरावस्थामा पनि बढी तौल र निष्क्रिय जीवनशैली भएका व्यक्तिमा तथा निश्चित समुदायका व्यक्तिहरू विशेष गरी दक्षिण एशियाली समुदायमा यस्तो समस्या देखिएको छ ।
कतिपय गर्भवती महिलाहरूमा पनि मधुमेह देखा पर्न सक्छ । त्यसबेला उनीहरूको शरीरले आफू र बच्चाका लागि चाहिने पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन ।
मधुमेहका लक्षणहरु के हुन् ?
सबैभन्दा सामान्य लक्षणहरू यस्ता छन्ः
१ एकदमै तिर्खा लाग्ने
२ नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
३ एकदमै गलेको महसुस हुने
४ प्रयास नगरीकनै तौल घट्ने
५ मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
६ धमिलो देखिने
७ चोट र घाउ निको नहुने ।
के मधुमेह राेक्न सकिन्छ ?
मधुमेह आनुवंशिक वा पर्यावरणीय कारणहरूमा निर्भर रहन्छ ।
तर तपाईंले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । त्यसका लागि खानेकुरा स्वास्थ्यकर र जीवनशैली सक्रिय हुनुपर्छ ।
चिनी भएका प्रशोधित खानेकुरा र पेयपदार्थ सेवन नगर्नु तथा र पाउरोटी अनि पास्ताको साटो परम्परागत पिठोबाट बनाइएका परिकार उपभोग गर्नु त्यस दिशातिर पहिलो पाइला हो ।
रेसा र बढी भिटामिन भएका भाग हटाइने हुनाले प्रशोधित चिनी र प्रशोधित अन्नमा पोषक तत्त्व निकै कम हुन्छ ।
आँटा, सेतो पाउरोटी, सेतो चामल, सेतो पास्ता, पेस्ट्रीहरू, गुलियो पेयपदार्थ, मिठाई र बिहानीपख खानामा खाइने चिनी मिश्रित सिरिअललाई स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
राम्रो खानामा तरकारी, फलफूल, गेडागुडी र सग्लो अन्न पर्छन् ।
तेल, बियाँ भएका फल र ओमेगा-थ्री फ्याटी एसिडको मात्रा धेरै भएका माछाहरू जस्तै सार्डिन, स्यामन र म्याक्रल पनि यही श्रेणीमा पर्छन् ।
यी खानेकुरा नियमित अवधिमा खानु र पेट भरिएपछि खान छाड्नु एकदमै महत्त्वपूर्ण हुन्छ ।
शारीरिक व्यायामले पनि हाम्रो रगतमा गुलियोको मात्रा कम गर्न सघाउँछ ।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसले प्रत्येक साता अढाई घण्टा एरोबिक व्यायाम गर्न सुझाव दिएको छ । त्यसमा चाँडोचाँडो हिँड्नु र सिँढी चढ्नु पनि पर्छन् ।
-बीबीसी नेपालीबाट