यौनाङ्ग संक्रमणबाट बच्नका लागि दैनिक सरसफाइमा ध्यान दिनुपर्छ । हाम्रा शरीरका अन्य अङ्गहरु भन्दा यौनाङ्ग संवेदनशील र महत्वपूर्ण छन् । स्वस्थ रहनका लागि यौनाङ्गकाे नियमित सफाइ गर्नुपर्छ ।
दैनिक सफाइ
विज्ञहरुका अनुसार हरेक दिन एक पटक पानी र हल्का सुगन्धरहित साबुनले यौनाङ्ग धुनुपर्छ । यसले पसिना र सुक्ष्मजीवहरु हटाउन मद्दत गर्छ । पानी सकेसम्म मनतातो प्रयोग गर्नुपर्छ ।
शौचालयपछि
शौचालय प्रयोग गरिसकेपछि पनि पानीले याैनाङ्ग सफा गरेर नरम कपडाले पुछ्नुपर्छ । त्यसो गर्दा युरिनरी इन्फेक्सनबाट बच्न सकिन्छ ।
यौन सम्पर्क गरेपछि
यौन सम्पर्क गरिसकेपछि पिसाब फेर्ने र यौनाङ्ग सफा गर्ने गर्नुपर्छ । यसो गर्नाले ब्याक्टेरियाको फैलावट रोक्नुका साथै विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
सुगन्धित उत्पादन प्रयोग नगर्ने
विज्ञहरुका अनुसार यौनाङ्गमा पाउडर वा अन्य कुनै सुगन्धित उत्पादन प्रयोग नगर्नु नै राम्रो मानिन्छ । किनभने, यसले सुक्ष्मजीवको सामान्य सन्तुलनमा बाधा पुर्याउन सक्छ ।
महिलाहरुले महिनावारीका बेला यौनाङ्गको सफाइमा अझै बढी ध्यान दिनुपर्छ । ब्याक्टेरियाको बृद्धि रोक्न समय समयमा सेनेटरी प्याड फेर्नुपर्छ ।
उपयुक्त पेन्टी
यौनाङ्ग स्वस्थ राख्नका लागि पेन्टी पनि सही हुनुपर्छ । विशेष गरी सुतीको पेन्टी राम्रो मानिन्छ । नाइलन वा सिल्क कपडाको पेन्टीले तरल पदार्थलाई सोस्न सक्दैन, जसले गर्दा संक्रमणको जोखिम बढ्न सक्छ ।
सन्तुलित खानपिन
अन्न, फलफुल, तरकारी, माछामासु आदि मिलाएर सन्तुलित खाना खाने र प्रशस्त मात्रामा पानी पिउने बानीले हामी स्वस्थ हुन सक्छौं र त्यसले हाम्रा यौनाङ्गहरु पनि स्वस्थ रहन्छन् ।
(यो सामग्री प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. सचिन कुमार यादवकाे भनाइअनुसार तयार पारिएको हो ।)