डिप्रेसन कुनै फेशन होइन, यो मनको मौन रुवाइ हो, जहाँ अनुहारमा मुस्कान हुन्छ, तर आत्मा चिच्याइरहेको हुन्छ ।
वैज्ञानिक रूपमा डिप्रेसन शरीरको रसायनहरू (जस्तै Serotonin, Dopamine) को असन्तुलन हो, जसले हामीलाई उदास, थकित, निराश बनाउँछ ।
तर यसको कारण केवल रसायन होइन, जीवनका चोटहरू, सामाजिक दबाब, विफलता, तिरस्कार, बाल्यकालको पीडा यी सबै मिलेर मनको भित्र गहिरो घाउ बनाउँछन् ।
धार्मिक रूपमा गीता भन्छ, “दुःख र सुख जीवनका दुई पाटा हुन् ।”
तर जब दुःखको मात्रा हद नाघ्छ, तब मनलाई अन्धकारले घेर्छ । प्रार्थना, साधना, भक्ति यी सबै उपाय हुन् मनकाे बिर्खा हटाउने ।
सांस्कृतिक रूपमा हामी ‘के भो र तँ त बलियो मान्छे’ भनेर भावनालाई दबाउने गर्छौं । ‘रोए कमजोर, चुप बसे बलियो’ भन्ने संस्कारले डिप्रेसनलाई झन गहिरो बनाइदिन्छ ।
भावना व्यक्त गर्नु कमजोरी होइन, उपचारको सुरुवात हो । मनोवैज्ञानिक रूपमा डिप्रेसन कुनै ‘मनको रोग’ मात्र होइन, यो आत्माको थकान हो ।
कसैलाई मनका कुरा सुनाउने मान्छे नहुनु, आफैंभित्र गुम्सिँदै जानु, यसले डिप्रेसनलाई मलजल गर्छ ।
कुरीति के छ त ?
डिप्रेसन भएछ भने “यो कमजोर छ”, “पागल भइसक्यो”, “धामीझाँक्रीकहाँ लैजाऊ ।”
यो सोच नै सबैभन्दा खतरनाक कुरीति हो ।
साँचो कुरा के हो भने डिप्रेसन सबैको जीवनमा कुनै न कुनै चरणमा आउँछ ।
तर बुझ्ने, सुन्ने, साथ दिने कोही भएन भने मात्र यो घातक बन्छ ।
त्यसैले,
– मान्छे हाँसिरहेको छ भनेर ठीक छ भन्नुहोस्,
– तर कहिले काहीँ “तिमी ठीक छौं?” भनेर सोधिदिनुहोस्,
– र कसैले “ठिक छैन” भने त्यसलाई मजाक बनाउने होइन, हृदयले सुन्नुहोस् । किनकि डिप्रेसन लाजको कुरा होइन । यो उपचारको खाँचो भएको मनको चोट हो ।
अब डिप्रेसनबाट कसरी जोगिने त ?
मनलाई सम्हाल्ने केही सरल तर गहिरा उपायहरू छन् ।
डिप्रेसन कुनै दिन अचानक नआउने रोग हो, यो त बिस्तारै–बिस्तारै मनभित्र बस्दै जाने अँध्यारो हो ।
तर हामीले चाह्याै भने केही साना तर प्रभावशाली बानीहरूले त्यस अँध्यारोलाई उज्यालोमा फेर्न सकिन्छ ।
१. नियमित रूपमा मन खोलेर बोलौं
“तिमी ठीक छौं?” भन्नुहोस्, र “म ठीक छैन” भन्न सक्ने आँट राखौं ।
मनको पीडा मनमै थुपार्नाले होइन, बाँड्नाले हल्का हुन्छ ।
२. शारीरिक गतिविधि बढाऔं
दिनको ३० मिनेट हिँड्नुस्, बगैंचामा काम गर्नुस्, शरीर चलाउनुस् । व्यायाम केवल शरीरका लागि होइन, मनका लागि पनि औषधि हो ।
३. डिजिटल डिटोक्स
सामाजिक सञ्जाल हेरौं, तर तुलना नगऱौं । अरुको खुसी देखेर आफू दुःखी हुने हो भने थप पीडा सिर्जना हुन्छ ।
कहिलेकाहीँ फोन बन्द गरेर मनसँग कुरा गर्नुस् ।
४. पर्याप्त निद्रा अनि सन्तुलित खाना
भोक नमेटिएको शरीरले मनलाई कसरी बलियो बनाओस् ? निद्रा र आहार- यी मानसिक स्वास्थ्यका मूल जरा हुन् ।
५. अध्यात्म र ध्यान
केही समय आफूभित्र फर्कौं । ध्यान (Meditation), प्रार्थना, भक्ति, साइलेन्स । यी सबैले मनलाई स्थिरता दिन्छन् ।
६. नकारात्मक मान्छे र वातावरणबाट टाढा बसौं
हरपल आलोचना गर्ने, तपाईंलाई सानो बनाउने मान्छेबाट टाढा रहनुहोस् । सकारात्मक साथ र सान्त मन– यी नै रक्षा कवच हुन् ।
७. आवश्यकता परेमा मनोपरामर्श लिऔं
डाक्टर कहाँ जानु लाज होइन । मानसिक रोग पनि रोग नै हो, उपचार योग्य छ ।
डिप्रेसनलाई जित्न तपाईं एक्ला हुनुहुन्न । हामी सबै कहिलेकाहीँ लड्छौं । तर सँगै रहेर, बुझेर, माया गरेर जित्न सकिन्छ ।
