किन हुन्छ महिनावारी गडबड ? नियमित बनाउन के-के गर्नुपर्छ ?

सामान्यतया महिलाहरु किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुने गर्छ । जुन नियमित महिनावारी हो ।

तर विभिन्न कारण महिलाहरुमा यो चक्र गडबडी हुने गर्छ । २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या हुन्छ। यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ ।

समयमै उपचार गरे अनियमित महिनावारीको समस्या ठिक हुन्छ । तर ढिला गरे यसले विभिन्न जटिलता निम्त्याउन सक्छ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी सिनियर कन्सल्टेन्ट निसन्तानपन रोग विशेषज्ञ डा. ज्वाला थापासँग कुराकानी अनुसार स्वस्थ्यखबर पत्रिकाले तयार पारेकाे बुँदा ।

अनियमित महिनावारी भनेको के हो ?
– सामान्यतया १२/१३ देखि ५०/५५ वर्षसम्म महिलाहरु महिनावारी हुन्छन्।
– महिनावारी २८ दिनको फरक हुने भएपनि छिटोमा २१ र ढिलोमा ३५ दिनसम्म भए सामान्य मान्न सकिन्छ।
– कुनै महिला २१ दिनअघि र ३५ दिनपछि भए, रगत धेरै वा थोरै बगे, महिनावारी नै नहुने समस्यालाई अनियमित महिनावारी भनिन्छ ।

अनियमित महिनावारी किन हुन्छ? यसका कारणहरु के के छन्?
– शरीरमा भएका विभिन्न ग्रन्थीबाट उत्पादन हुने हर्मोनको तालमेल मिलेपछि महिनावारी सुरु हुन्छ।
– महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी गडबड हुन सक्छ।
– थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगत सम्बन्धी रोग, अण्डाशय, पाठेघर सम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ।
– मोटोपन भएका, एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलाहरुमा पनि महिनावारी अनियमित हुन सक्छ।

अनियमित महिनावारीको उपचारहरु के–के छन्?
– बिरामीको उमेर समूह र समस्या अनुसार यसको उपचार हुन्छ।
– कुनै बेला परामर्श र हर्मोन थेरापीले मात्र पनि कतिपय समस्याहरु निको हुन्छ।
– यो बाहेक गर्भवती जाँच, हर्मोन, थाइराइड, अल्ट्रा साउण्ड सबै गरेपछि मात्र समस्या अनुसार उपचार गरिन्छ।

समयमै उपचार नगरे यसले निम्त्याउने जटिलताहरु के–के हुन सक्छन्?
– अनियमित महिनावारी भइरहँदा मानसिक तनाव हुन्छ।
– धेरै रगत बगिरहे शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ।
– कतिपयलाई सन्तान जन्माउनमा पनि गाह्रो हुन्छ।
– समस्यालाई बेवास्ता गरिरहे यसले निम्त्याउने जटिलताका कारण क्यान्सर समेत हुन सक्छ।

अस्वस्थकर जीवनशैली र तनावले पनि महिनावारी गडबड हुन्छ?
– हो, अस्वस्थकर जीवनशैली, तनाव र कामको बोझले महिनावारी गडबड हुन्छ।
– प्रशोधित तथा जंकफुड बढी खाँदा शरीरमा तौल बढ्छ र बढी तौलले महिनावारी अनियमित गराउँछ।

महिनावारीलाई नियमित बनाउन के के गर्नुपर्छ?
– सबैभन्दा पहिले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ।
– दैनिक शारीरिक व्यायाम गर्नुपर्छ।
– चिकित्सकको सल्लाह बिना परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नु हुँदैन।
– केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्