जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी लगायतका ठूला पार्टीहरुले मधेसी जनताको शोषण मात्रै गर्दै आएको बताएका छन् ।

अन्य दलले मधेसलाई भोट बैंक बनाएर शोषण मात्रै गरेकोले जसपा नेपालले मधेसलाई मुक्ति दिलाउने प्रतिबद्दता जाहेर गरेकाे उनले बताए ।

सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेशका जनताले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्ने बताए ।

शोषित उत्पीडित जनताको हकअधिकार स्थापित गराउन आफूहरु अझैं संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘कांग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन् । शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो ।’

पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफूहरु पार्टीको स्थापना कालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे ।

अबको वैकल्पिक शक्तिको रुपमा जसपा नेपाल मात्रै रहेकोले आउने निर्वाचनमा जनताले मतदान गरेरै आफ्नो अभिमत जाहेर गर्ने उनले विश्वास व्यक्त गरे ।

विकास सम्बन्धी मानवीय सूचकाङ्कअनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने, ‘सप्तरी मेरो जन्मभूमि हो, यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालयस्तरीय शिक्षा पनि यही प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएँ ।’

आफूले सप्तरीमा नर्सिङ्ग कलेज, इन्जिनियरिङ कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधासम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायतका कामहरु गरेको जानकारी गराउँदै उनले भने, ‘मैले र मेरो पहलमा भएका कामहरु छर्लङ्ग छ । जनतालाई विकास गर्ने जनप्रतिनिधि चाहियो कि झुठा आश्वासन बाँड्ने नेता ?’

सचेत जनताले भ्रमको खेती गर्नेहरुमाथि विश्वास नगर्ने अध्यक्ष यादवको दाबी छ ।