नेकपा एमालेले पार्टी निर्णय विपरीत सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने मनोजकुमार मेन्याङ्बोलाई पार्टीबाट निष्कासन गरेको छ ।
एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग सुनसरीसहित देशका १४ जिल्लामा चुनावी तालमेल गर्ने निर्णय गरी सुनसरी क्षेत्र नं १ मा जसपाबाट अशोक राईलाई साझा उम्मेदवार बनाएको छ ।
सुनसरी १ को दुवै क्षेत्रमा एमाले–जसपाका साझा उम्मेदवारको रुपमा एमालेबाट रमेश बस्नेत र विजय राई छन् ।
तर, मेन्याङ्बोले प्रतिनिधिसभाका साझा उम्मेदवार अशोक राईका विरुद्ध उम्मेदवारी दिएपछि एमाले प्रदेश १ कमिटीले उनलाई पार्टीबाटै निष्कासन गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गत १२ कात्तिकमै मेन्याङ्बोलाई कारबाही गरिएको पत्र सुनसरी जिल्ला कमिटीलाई सर्कुलर गरेको र उक्त पत्रको बोधार्थ पार्टी केन्द्रीय कमिटीलाई पनि पठाएको खुलेको छ ।
एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल गर्ने र बाँकी जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको छ ।
एमाले नेपालका सबै दलहरुमध्ये पार्टी दृष्टिकोणबाट अनुसाशित दलको रुपमा स्थापित छ ।

