काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन नसक्ने भएपछि अन्ततः उनी नेकपा एमालेतिर लागेका थिए ।
आइतबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास भक्तपुरकाे बालकोटमा दुई दलका अध्यक्षहरुसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले बैठक गरेका थिए ।
यी दलका साथै जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहसहितकाे समर्थन भएपछि राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।


सात दल र तीन स्वतन्त्र सांसद गरी दाहालको पक्षमा १६९ मत रहेको छ । प्रधानमन्त्री बन्नका लागि कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ मत भए पुग्ने थियाे ।
