काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ ।
जसपाले सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जाने अन्यथा बाहिरबाटै समर्थन गर्ने निर्णय गरेको हो ।
मंगलबार ललितपुरको बालकुमारीमा सकिएको राजनीतिक समितिको बैठकले यो निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए ।
जसपाले मुद्दा र विचार मिल्ने विभिन्न दलसँग एकता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ ।
जसमा रकम चेम्जोङ र गोविन्द चौधरी संयोजक छन् ।
बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीको नीति निर्णयविरुद्ध काम गरी अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।
जसका लागि शिवलाल थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन दिने छ ।
यसैगरी बैठकले पार्टीको विधान अधिवेशनका लागि विधान मस्यौदा निर्माण गर्न केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।
जसमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, शिवलाल थापा, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी सदस्य छन् ।
जसपाकाे राजनीतिक समितिकाे बैठक साेमबारदेखि चलेकाे थियाे ।



