काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् ।
साेमबार नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुने पनि बताए ।
“हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ,” उनले भने, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”
हजारौं सहिद, वेपत्ता, जेलनेल सहेका र घाइते अपांग नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट समावेशी संसद बन्न सफल भएकोतर्फ इंगित गर्दै उनले समावेशी संसद बनेको खुसी व्यक्त गरे ।
उनले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधामिक र बहुभौगौलिक विशेषता भएको यो देशमा विविधताका सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा गर्याै भने विभाजनतिर जान्छौं ।”
फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकोले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जाेड दिए ।
“मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं,” उनले भने, “भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छूट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानुछ ।”
सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनुपर्ने बताए ।
“राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नुछ । विभेद र बहिस्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ,” उनले भने “आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ ।”
