विराटनगर युद्धकाे मरुभूमि बन्दैछ कि !

दलमर्दन कामी

अनलाइनखबरले गत जेठ ८ गते कोशी प्रदेशको बजेट अधिवेशन १४ जेठमा बोलाउन सिफारिस शिर्षककाे समाचार प्रकाशित गर्यो । उक्त समाचार १०० जना भन्दा धेरैले सेयर गरेका छ्न् भने कमेन्ट शुन्य छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो भन्ने प्रश्न राखिएकाे छ । जवाफमा १०० प्रतिशत आक्रोशित जनाउने एमाेजी छन् ।

यस्तो बेलामा बोलाएको बैठकले सफलता कस्तो पाउला भन्ने प्रश्नले आम नागरिकमा कौतुहलता हुनु अनौठो विषय होइन ।

प्रदेश १ सरकारले गत फागुन १७ गते छापामार शैलीमा एकल जातीय, एकल धार्मिक, एकल नस्लीय (गोत्रीय) आधारमा कोशी प्रदेश नामकरण गरेपछि पहिचानकाे आन्दोलन दिनानुदिन आक्रोशित हुँदै गएकाे छ । र, संगठित पनि हुँदै गएको छ जुन सामाजिक सञ्जाल, युट्युब र अनलाइन मिडियाहरुमा व्यापक भएकाे छ ।

यस परिस्थितिमा प्रदेशको सदनमा सांसद स्वयम् कसरी उपस्थित हुने र आन्दोलनले कुन रुप लिने भन्ने त्रासमा देखिन्छ । करिब तीन महिनादेखि प्रदेश १ अर्थात तथाकथित (कोशी प्रदेश)का सांसद प्रदेशको नाम कोशी राखिसकेपछि आआफ्नाे घरमा सहज रुपमा जान र परिवारजनसँग भेट्न तथा आमन्त्रित कार्यक्रमहरुमा सहभागी हुन नै सकिरहेका छैनन् ।

प्रदेश १ को नाम जबर्जस्त बिना छलफल चोर बाटोबाट पहिचानको आन्दोलनलाई बेवास्ता गर्दै कोशी राखेपछि प्रदेश १ मा शान्तिपूर्ण सशक्त आन्दोलन चलिरहेकै छ । उक्त आन्दोलनमा १ जना पहिचानवादी नेता लाजेहाङ सहिद भएपछि राज्यले नै सहिद घोषणा गरिसकेको अवस्था छ । ५० जनाभन्दा धेरै घाइते भएर घरमै उपचाररत छ्न् भने केही उपचाररत आन्दोलनकारीहरु अपाङ्गता हुने देखिएकाे छ ।

चौबिसे राज्य भनेता पनि गणतान्त्रिक नेपाललाई पृथ्वीनारायण शाहको एकीकरणपछि आफ्नो भूगोल गुमाउँदै पछिल्लो समय भेषभुषा, धर्म, भाषा, लिपि, संस्कार र संस्कृति समेत लोपोन्मूख अवस्थामा रहेका आदिवासी जनजातिहरु लामो समयदेखि भूगोल, इतिहास, सभ्यता, भाषा, संस्कृतिको लागि कुनै न कुनै तवरले आन्दोलन गर्दै आएका छ्न् ।

पछिल्लो पटक प्रदेश १ सरकारले छापामार शैलीमा कोशी प्रदेश नामकरण गरेपछि पहिचानका लागि आन्दोलनरत शक्तिहरु संगठित भएका छन् । प्रदेश १ मा लामो समयदेखि लिम्बुवान, खम्बुवान, किरातका नाममा पहिचानवादीहरु विभाजनमा एकाअर्काबीच कटाक्ष गर्थे ।

लिम्बुवान आन्दोलनकर्मी अरुण नदि पारी ९ जिल्ला लिम्बुवान भन्थे भने किरात खम्बुवान भन्नेहरु पनि वल्लो किरात पल्लो किरात खम्बुवान भन्थे । यसपालि कोशी प्रदेश नामकरणपछि भने पहिचान आन्दोलनरत शक्तिहरु प्रदेश नं १ पुनः नामङ्कन संयुक्त सङ्घर्ष समितिकाे नाममा संगठित र एकताबद्ध भएका छन् ।

यसैबीच प्रदेश १ को नाम कोशी राखेको र कोशी नाम राख्नलाई उक्साउन सहयोग गरेको भन्दै पहिचानवादी आन्दोलनकर्मीहरुले प्रदेश सांसदको घरमा कालो झण्डा गाड्ने, प्रदेशको नाम लेखेको मेटाउने, जलाउने, लेटरहेड बाेर्ड च्यात्ने, जलाउने, प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुङ्गाबाट, पूर्वमन्त्री इन्द्र आङ्बोलाई ताप्लेजुङबाट, प्रदेश सांसदहरु राम राना मगरलाई इलामबाट, पीके राईलाई खोटाङबाट आक्रोशित जनताबाट लखेटेका थिए ।

र, नेकपा एमाले अध्यक्ष केपी ओलीलाई तेह्रथुम, पाँचथर, इलाम र झापाबाट कालो झण्डासहित जनताले विरोध प्रदर्शनसहित लखेटेका थिए ।

कोशीको पक्षमा हस्ताक्षर दिने ८२ जना सांसद र केपी ओली विरुद्ध आन्दोलन जारी छ । गत बैशाख २८ देखि जेठ १ गतेसम्मको एमाले पार्टीको केन्द्रिय बैठक झापाको दमकमा तोकेकोलाई पहिचानवादीहरुको चर्को बिरोधका कारण एमालेले रद्द गरेकाे थियाे ।

कोशी नामकरण खारेजी आन्दोलन निरन्तरता दिँदै आन्दोलनलाई थप बलियो र सशक्त बनाउन जिल्ला जिल्लामा समानान्तर युवा दस्ता किरात लिम्बुवान घोषणा गर्दै आएका थिए । शान्तिपूर्ण आन्दोलनलाई नटेरेको भन्दै यही जेठ १२ गते विराटनगरमा पहिचानका लागि युवा घोषणा गरी मार्चपास समेत गरिएकाे छ ।

आन्दोलन पक्षधरले जेठ १४ बाट चल्ने भनेको प्रदेश संसद अबरोध गर्ने र कोशी नाम खारेज नगरेसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएकाे छ । आन्दोलनकर्मीहरु आफ्नो पहिचान र अधिकारको निम्ति तीन महिनादेखि चलेको शान्तिपूर्ण आन्दोलन थप सशक्त चर्काउदै जाने तयारीमा छन् ।

सरकार अनुदार र अदेखा गरी एकलौटी पेलेर जाने जस्तो देखिन्छ । यसले कोशी प्रदेशको राजधानी विराटनगरमा जेठ १४ गतेबाट कतै युद्धको मरुभूमिमा परिणत हुने त हैन ? भन्ने प्रश्न उठेकाे छ । देश सबैको हो, मेलमिलाप र भाइचारामा रहनु सबैले कर्तव्यबोध गरौँ, अशान्ति हुन नदिऔं । सरकार, आन्दोलनकर्मी, मानवअधिकारवादी, पत्रकार, सचेत नागरिक, सरोकारवाला सबै पक्ष सचेत र सजग हुन जरुरी छ ।

(कामी जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य हुन्)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. धन्यवाद बिचार प्रस्तुत गर्ने अवसरका लागि

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्