काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो परिवर्तन गरेको छ ।
माथिको आधा भाग रातो, मुनिको हरियो र बिचमा सेतो पाँचकुने तारा रहेको झन्डालाई पुरै रातो बनाएर बिचमा सेतो तारा राखिएको छ ।
पुरै भाग रातो बनाइएकोले जसपाको झन्डा कम्युनिष्ट पार्टीको जस्तो बनेको छ ।
तर जसपाले आफूलाई स्थापनाकालदेखि नै कम्युनिष्ट नभएर समाजवादी उल्लेख गर्दै आएको छ ।
त्यसैगरी पहिलेको लोगो गोलाकारभित्र तारा थियो । अहिले गोलाकारभित्र तारा र ताराभित्र मुठ्ठी उठाएको बनाइएको छ ।
जसपाको विधान अधिवेशन गत असार १०, ११ र १२ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो ।
तर, विधान अधिवेशनमा झन्डा र लोगो फेर्ने विषय प्रवेश भएकाे थिएन । जसपाको केन्द्रीय कार्यकारिणी समितिले झन्डा र लोगो फेरेको हो ।
परिवर्तित झन्डा र लोगोसहितको नयाँ विधान प्रमाणिकरण गरी निर्वाचन आयोगमा बुझाइएको जसपाका एक नेताले बताए ।
पार्टीको झन्डा कम्युनिष्ट जस्तो झल्काउने बनेपछि धेरै कार्यकर्ताहरुले सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका छन् ।
परिवर्तित झन्डा र लोगो ‘जसपा केन्द्रीय प्रचार विभाग’ नामको फेसबुकबाट सार्वजनिक गरिएको थियो ।