सरकारले नै सहकारी पीडितलाई रकम उपलब्ध गराउने

थन्किएर बसेका कार्यविधि कार्यान्वयनमा ल्याइँदै

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धी समस्या समाधान गर्न लामो समयदेखि निष्कृय रहेका कार्यविधि तथा ऐनहरु कार्यान्वयनमा ल्याउने भएकी छन् ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भए पनि निष्कृय बन्दै आएको विभिन्न ऐन तथा कार्यविधिहरु तत्काल कार्यान्वयनमा ल्याउन मन्त्री चौधरीले निर्देशन दिएकी छन् ।

उनको निर्देशनसँगै कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, असुली न्यायधीकरण, सहकारी समस्या समाधान सुझाव कार्यदल, उच्चस्तरीय प्राविधिक समिति, क्रेडिट युनियन याक्ट (सियुए)लगायत कार्यविधि कार्यान्वयन गरिने भएको छ ।

कार्यान्वयनमा आउने कार्यविधिहरुमध्ये समस्यामा परेका सहकारी पीडितहरुलाई बचत सुरक्षण कोषले तत्काल राहत दिने मन्त्री चौधरी बताउँछिन् ।

‘बचत सुरक्षण कोष भनेको यदि कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ, उसले सहकारीमार्फत फिर्ता पाउन सकेनन् भने यस कोषमार्फत सरकारले उपलब्ध गराउने छ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भनिन् ।

मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर उक्त कार्यविधिहरु कार्यान्वयनमा लैजाना मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने चरणमा छ ।

आगामी दुई महिनाभित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पीडितहरुलाई सरकारले नै पाउनुपर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरीले बताइन् ।

अन्य कार्यबिधिहरु भने सहकारी पीडितहरुको दिर्घकालीन समस्या समाधानका लागि अति उपयोगी रहने बताइएको छ ।

मन्त्री चौधरीले भनिन्, ‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरुका कारण सहकारीमा हुने समस्या र त्यसबाट पीडित हुने सम्भावनाको निर्मुल हुने कुरामा हामी विश्वस्त छौं । यहीं कुरामा ढुक्क भएर नै सहकारी पीडितहरुले लामो समयदेखि जारी राख्नुभएको आन्दोलन स्थगित गर्नुभएको छ ।’

माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले बिहिबारदेखि आन्दोलन स्थगित गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्