उत्पीडित जाति कि गाईकाे आत्मसमान बढी ?

निराजन किराती

हाम्रो देश नेपाल बहुलजातीय, बहुलधार्मिक, बहुलसंस्कृति र बहुलभाषिक देश हाे । यहाँ थुप्रै जाति, भाषी, संस्कृति तथा रहनसहन जस्ता आन्तरिक राष्ट्रहरु मिलेर मात्रै पूर्णतः देश निर्माण भएको छ, जसले मुलुकलाई रङ्गिन र साझा फुलबारी बनाउन मद्दत गरेको छ । र, ती सयौं फूलहरुलाई फुल्न दिने वा जगेर्ना गर्ने अभिभावकीय दायित्व सरकारकाे हुन जान्छ ।

अहिलेकाे नेपाल राजनीतिक प्रणालीको हिसाबले संसदीय प्रणाली, अर्थ प्रणालीको हिसाबले दलाल पुँजीवादी प्रणाली र सांस्कृतिक हिसाबले पुनर्जागरण (Renaissance) को महत्वपूर्ण अवस्थामा उभिएकाे छ । खासगरी, पृथ्वीनारायण शाहको राज्य एकीकरणपश्चात नेपाललाई असली हिन्दुराज्य निर्माण गर्न गर्ने ठुलो अभिलाषाको साथ सांस्कृतिक अतिक्रमण बढाइए, र अन्ततः सम्पूर्ण आदिवासी तथा किरातीहरुको संस्कृतिलाई निषेध गरिरहे ।

सांस्कृतिक प्रतिवादमा दसैं नमानेपछि धनकुटाका रामलीहाङ र रिदामा जस्ता होनहार किरातीहरुलाई निर्मम तरिकाले सहिद बनाए, र एकात्मक हिन्दुराज्य सत्ताले निर्ममताका साथ आफ्नो धर्म लादिरहे । त्यसबेलाकाे दृष्टान्तलाई हेर्ने हो भने किरातीहरुले परापूर्वकालदेखि नै गोरुको मासु अनिवार्य रुपमा भोग गर्दथे भन्ने बुझ्न कठिन छैन । अझ भन्ने हो भने गोरुको मासुबिना भोज चल्दैनथ्याे ।

ठुलो सांस्कृतिक दमनपछि मात्र ती गतिविधिहरु रोकिएका हुन् । यथापि, ती संस्कृति निषेध मात्रै गरिएको हो, दबिएर बसेकाे मात्रै हाे । त्यसकारण पनि अहिले एउटा सुन्दर वातावरण बनाउँदै ठिक समयमा यसको पुनर्जागरण ठिक तरिकाले भएको छ । यतिबेला प्रगतिशील सांस्कृतिक पक्षधरहरुले प्रतिकात्मक रुपमा गोरुको मासु भोजन गरी सार्वजनिक समेत गर्दै आएका छन् । जसकाे अर्थ हुन्छ सांस्कृतिक रुपमा स्वतन्त्र हौं । यसको ठिक विपरीत गौमाता, राष्ट्रिय जनावर र संवैधानिक विषय लगायतका बखेडा निकाल्ने सम्प्रदाय रहेकाे छ । उनीहरु गोरु काटिएकोमा आपत्ति जनाउँदै मृत्युदन्डसम्मकाे सजाय दिनुपर्ने ठाउँमा पुगिसकेका छन् र गोरु काटेकै कारण सामाजिक सद्भावमा असर गरेको ठहर्‍याउन पछि पर्दैनन् ।

थुप्रै मुलुकले राष्ट्रिय जनावर खाएकै छन्, खाए पनि भयो ।

त्यसाेभए जबर्जस्त प्रश्न उठ्ला- के सामाजिक सद्भाव कायम गरिरहन सधैं आदिवासीहरुले मनुवादी एकल हिन्दु धर्मलाई अङ्गालाे हालिरहनुपर्ने हाे ? वा उत्पीडित जाति/समुदायले कतिसम्म सहन सकेपछि मात्रै सामाजिक सद्भाव अच्छा हुने हो ? साचो अर्थमा भन्ने हो भने उत्पीडित जाति/समुदायभन्दा माथि गाईलाई राखिने धर्मले के न्याय देला ?

समाजमा दलित कुटिदा, मारिदा, दलितको घरमा आगो लगाउँदा एउटा महिलालाई बोक्सीको आरोपमा गुहु खुवाउँदा हाइसन्चो हुने, केही नबोल्ने हिन्दु धार्मिक अतिवादी साेच वास्तवमा घातक छन् । सुरुवातमा शासन सत्ता सञ्चालन गर्न स्थापित सबै जसो धर्मले अन्ततोगत्वा अन्धविश्वासतिर धकेल्दै कसैले नदेखेको वा परिकल्पनामा आधारित अन्धोआस्थासँग लपेटेर आम नागारिकलाई अन्धकारको बाटोमा लाने निश्चित छ । निश्चित छ कि धर्ममा लिप्त मानिसले कहिल्यै आफूलाई विश्वास गर्न सक्दैन र आफ्नो मालिक दुनियामा कही कतै नभएको भ्रमित भगवान्लाई मान्छ, जसकाे जीवन ज्यादै निरिह, अन्धविश्वासपूर्ण, अशिक्षित र दासी झैं चलिरहन्छ ।

यस दृष्टान्तले पनि के देखाउँछ भने जो धरानमा गाईकाे मासु खाएकाे विराेधमा अतिवादमा रमाएर हिन्दु धर्मकाे पक्षधर बने, उनीहरु ज्ञानकाे हिसाबले पछाैटे र अन्धविश्वासी, विवेकको हिसाबले एकलकाटे, अधिभूतवादी र असहिष्णु ठहर्छन् । यसैको उपज धरानलाई अशान्त पार्ने दाउसहित धार्मिक मुर्खहरु गत भदाै ९ गते विवेकको तराजुमा नाङ्गै हिँडे । यो गतिविधिलाई मानक बनाउने हो भने दुनियाको सबै घटिया चिन्तन यही भिडमा अल्झिएको रहेछ ।

यही धराने विषयलाई लिएर हिन्दु पक्षधरले कानुनको डन्डा समेत बर्साउनु भ्याएका छन् । उहाँहरुको तर्क अनुसार कानुन विपरीत कार्य पूर्णतः बर्जित हुनुपर्ने हो । यो उहाँहरुको तर्क ठिकै हाे । तर समग्र कानुनी प्रणालीलाई अपनाउँदा प्रथाजनित विषयलाई Customary Law ले  प्रतिबन्धात्मक वाक्यांश प्रयोग गरी छुट दिइएको छ नि !

उदाहरणार्थ हामी सार्वजनिक रुपमा जन्म-कर्मदेखि मृत्यु-कर्मसम्म नै जाँड-रक्सी चलाउँछौं । जसलाई राज्यले वैध मान्छ । धेरै आदिवासीहरुको विहेवारी संविधान विपरीत छ । तर पनि प्रथाजनित विषय रहेकोले राष्ट्रिय कानुन वा संविधानले छुट दिन्छ । सोही अनुरुप मूल कानुन विपरीत भए पनि, राष्ट्रिय जनावर भए पनि, हिन्दुहरुकाे माता भए पनि प्रथा अनुसार चलाउनलाई कुनै बर्जित नहुने कुरा स्वाभाविक छ ।

अर्को विषय, राष्ट्रिय जनावर भए पनि यी मानवनिर्मित मानक न हो । जसलाई परिवर्तन गरे पनि भयो, वा थुप्रै मुलुकले राष्ट्रिय जनावर खाएकै छन्, खाए पनि भयो । आखिर सकारात्मक कानुनी प्रणाली नै त नेपालमा अनुसरणमा छ ।

यससँगै राष्ट्रिय रुपमा छल्किएको गाई बहसलाई अन्य थुप्रै कोणबाट पनि विमर्श गर्न जरुरी छ । गाईलाई जैविक कोणबाट  हेर्ने हो भने जैविक प्राणी सिबाय अरु केही हैन, जसकाे जीवन र मृत्यु सार्वभाैम सत्य छ, अरु केही हाेइन । सोही चस्माबाट नै हेर्ने हो भने अन्य जनावर पनि गाई प्रजातिको जनावरभन्दा किञ्चित् फरक भेटिदैन ।

यसकारण पनि गाई र अन्य जनावरमा जैविक तुलना गर्दा हजार तर्क गरे पनि शाश्वत समानता कायम रहन्छ नै । मानव उपयोगिताको कोणबाट हेर्ने हो भने चाहिँ हरेक जनावरमा भिन्न उपयोगिता पाउन सकिन्छ । जस्ताे कि गाईबाट उत्पादन र उपयोग हुने वस्तुहरु भनेको दुध, दही, ध्यु, मही, मासु र छाला आदि । यस कोणबाट हेर्दा गाई मानव जातिलाई नभइ नहुने प्रजातिको जनावर हो । यसरी हेर्दा के महसुस हुन्छ भने हरेक वस्तुको मुल्य उपयोगिताको आधारमा हुनुपर्छ । यसो भयो भने साच्चिकै सबै जनावरमा समतामूलक समानता कायम हुन जान्छ । नत्र त जनावरभित्रै पनि घोर अन्याय गर्ने ठाउँमा मानिस पुगिन्छ ।

यति मात्रै नभएर यान्त्रिक तवरले गाईलाई मानिसको माताको रुपमा बठ्ठाउन तयार हुन्छ । बरु मानिस जेसुकै होस् न ! परिणामस्वरुप मानिसको स्वाभिमान/आत्मसम्मान भन्दा माथि गाई ठहर्छ । उत्पीडित समुदायको मान्छेको हत्या भन्दा गाईको हत्या सही नसक्नु बनिदिन्छ । अनि अतिवादमा सङ्कीर्णतासहित धार्मिक उच्छृङ्खल मच्चिन्छ । उसैगरी सतही मान्छेहरु पक्ष र विपक्षमा साह्रै अव्यवस्थित सुसेली हाल्न थाल्छन् । यी अभिजात्राबाट माथि निस्कन अन्तिमसम्म प्रयत्न गरौं, आफूलाई मानव सावित गराऔं !

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

3 COMMENTS

  1. sahi ho gai ra borakaa santtana harule europe ra america araba china sabai laaii rokna sakchha khaana .
    maasu kahna pani napaune baun lai sodhn parne desh kasto ho ?

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्