प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पहिचान पक्षधर जनतासँग निहु नखोज्न नेकपा एमालेका युवा संघ अध्यक्ष क्षितिज थेबेलाई चेतावनी दिएको छ ।
समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी थेबे पहिचान पक्षधरहरुसँग निहु खोज्न आए त्यो उनकै लागि प्रतिउत्पादक बन्न सक्ने चेतावनी दिएको छ ।
समितिले थेबेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको जुठोपुरो खाएर पहिचानको विरोध गर्दै हिँडेको आरोप लगाएको छ ।
आफूलाई पहिचान पक्षधर आन्दोलनकारीहरुले कालो झन्डा देखाउने निश्चित हुँदा-हुँदै थेबेले गत भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका–६, राजारानी क्षेत्रमा जबरजस्ती आएर निहु खोजेको समितिले जनाएकाे छ ।
समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना सांसदहरुलाई सार्वजनिक कार्यक्रममा कालो झन्डा देखाउनेलगायत आन्दोलन जारी रहेको बेला आन्दोलनहरुलाई होच्याउने, खिसीटिउरी गर्ने एमाले अध्यक्ष केपी ओली र क्षितिज थेबेको अभिव्यक्तिले अशान्ति हुन सक्ने भएकोले बेलैमा सम्बन्धित पक्षको ध्यान पुग्नुपर्ने पनि जनाएको छ ।
समितिले आगामी असोजबाट आन्दोलन तीव्र बनाउने तयारी गरिएको पनि जनाएको छ ।