प्रतिगमनविरुद्ध अग्रगामी पहिचानवादीहरु संगठित हुँदै

संविधान संशोधन र पहिचान आन्दोलनका लागि राष्ट्रिय पहिचान अभियान चलाइने

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशी जस्ता संविधानका उपलब्धिहरुलाई नामेट पार्ने पश्चगामी शक्तिहरु सल्बलाउन थालेपछि पहिचान पक्षधर अग्रगामीहरु पनि जुट्न थालेका छन् ।

संविधानले पहिचानसहितकाे संघीयतालाई स्थापित गर्न नसके पनि संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ ।

हाल, त्यहीँ संघीयता र धर्मनिरपेक्षताकै विरुद्धमा राप्रपा, राजावादी तथा अतिहिन्दुवादी शक्तिहरु लाग्न थालेपछि अग्रगामी पहिचानवादीहरु पनि संगठित रुपमै प्रतिरोधमा उत्रिने पक्षमा पुगेका छन् ।

पहिचानवादीहरुले सहअस्तित्व र सद्भाव कायम राख्दै शान्तिपूर्ण ढंगबाट संविधान संशोधन र पहिचान आन्दोलन अघि बढाउन संयुक्त राष्ट्रिय पहिचान अभियान सञ्चालन गर्दै छन् ।

यो अभियान नेपालका प्रमुख ८ आदिवासी जनजाति संघ-संस्थाहरुको पहलमा अघि बढाउन लागिएको हो ।

जसका लागि आगामी कात्तिक १८ गते शनिबार सुनसरीको इटहरीमा ऐक्यबद्धता सभाको आयोजना गरिने छ ।

नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, नेवा देय दबु, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र तमु ह्युल छो ज धी गुरुङ राष्ट्रिय परिषद्ले संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त सभामा सहभागी हुन अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं १ को पहिचानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सुनसरीको इटहरीमा २०८० कात्तिक १८ गते शनिबारका दिन दिउँसो १ बजे आदिवासी जनजाति संघ-संस्थाहरुको संयुक्त ऐक्यबद्धता सभा हुन गइरहेको हुँदा सो सभामा स्वस्फुर्त सहभागिता जनाइदिन समस्त न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल जारी गर्दछौँ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्