लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।
व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ ।
रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ ।
फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् ।
फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् ।
बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ ।
स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले आफ्नो एक–दुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको बताउँछन् ।
“अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन्”, उनी भन्छन्, “हामी फापरकै आँटो, ढिडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे ।”
फापर बारीमा अन्य खेती हुन थालेको स्थानीय निमबहादुर विक बताउँछन् ।
“पहिला रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि निकै कम फल्ने गरेको छ”, उनले भने ।
फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौँखेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको विकले बताए ।
फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको विकको भनाइ छ । मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटेको उनकाे भनाइ छ ।
अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला–महोसत्वमा मात्र फापर सीमित भएको छ ।
बागलुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिए ।
उनका अनुसार हरेक वर्ष एक सय २० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ ।
फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन गर्ने सूचना अधिकारीले पुनमगरले बताए ।