घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण उद्घाटन

पहिचानविरोधीलाई छिर्नै नदिने

कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण चलाउँदै छ ।

बिहीबार घुर्मी बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । जसलाई संघर्ष समितिले ‘घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’ भनेको छ ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउनका लागि जागरण अभियान सुरु गरिएको हो ।

‘हामी भोलिदेखि नै अभियानमा हिँड्छौं,’ पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राईले बिहीबार साँझ साल्पा अनलाइनसँग भने, ‘अभियानको क्रममा आन्दोलनको आवश्यकताबारे स्पष्ट पार्ने र संगठन विस्तार गर्ने काम गर्छौं ।’

अभियान अनुरुप नै आगामी मंसिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रमसहितको कोणसभा गरिने छ भने मंसिर २६ र २७ गते मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवाभन्ज्याङसम्मको सडक बन्द गरिने छ ।

पहिचान आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई साे क्षेत्रमा कुनै पनि हालतमा हिँड्न नदिने किरात राई यायोक्खाका महासचिव समेत रहेका संयोजक राईले बताए ।

‘कुनै पार्टीलाई छेक्ने हाम्रो रणनीति होइन,’ उनले भने, ‘तर हाम्रो आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई चाहिँ जुनसुकै पार्टीको भए पनि हामी छिर्न नै दिँदैनौँ ।’

संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने पहिल्यै घोषणा गरेको थियो ।

संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा कटारी-ओखलढुंगा-सोलु सडकलाई ‘बलबहादुर राई मार्ग’ पनि घोषणा गरिएको थियो ।

जसमा पूर्वमाओवादी नेता गोपाल किराती, जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले बोलेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्