राष्ट्रियता भूगोलसँग होइन, जनतासँग जोडिएको विषय हो । देश र राष्ट्र फरक विषय हो । देशको सीमा हुन्छ । राष्ट्रको सीमा हुँदैन ।
पृथ्वीनारायणले डोलाएको भूगोल हो । राष्ट्र होइन । महेन्द्र राजा त्यो विषयका जानकार थिए । त्यसैले एक राष्ट्र, एक जातिको अभियान चलाएका थिए । जुन अभियान गलत ढंगबाट चलेको थियो । अर्थात जाति, भाषा, संस्कृतिहरु मेटेर एउटै बनाउने जबर्जस्ती थियो । त्यसैले असफल भयो ।
वर्तमान नेपालका राजनीतिक दलका अधिकांश नेता-कार्यकर्ताहरु शब्दले दिने परिभाषाप्रति सचेत छैनन् । त्यसैले पुस २७ मा राष्ट्रिय एकीकरण दिवस मनाउनुपर्छ भन्ने सोच राख्छन् ।
पृथ्वीनारायण शाहलाई देश निर्माता भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्छ । राष्ट्र निर्माता भन्न त मिल्दै मिल्दैन । पुस २७ गते पृथ्वीजयन्ती मनाउन सकिन्छ । एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस भन्न मिल्दैन । नेपाल बहुराष्ट्रियता भएको भूमि हो । आजसम्म पनि बहुराष्ट्रियता विद्यमान छ । भिन्न राष्ट्रियताबीच समभावको विकासले मात्र बहुराष्ट्रियताभित्र बृहत् राष्ट्रिय एकता निर्माण हुनसक्छ ।
पहिचानको नामसम्म पनि दिन कञ्जुस्याईं गर्ने जातीय अहंकार र क्षुद्रता बाँकी रहँदासम्म देशमा एकीकृत र बृहत् राष्ट्रिय भावना बलियो बन्दैन । देश बलियो बन्दैन ।
त्यसैले “देशप्रेम” र “राष्ट्रभक्ति” एउटै विषय होइन । “राष्ट्रभक्ति” र “राष्ट्रप्रेम” एउटै विषय होइन । देश र राष्ट्र दुवै एकीकरणलाई राष्ट्रिय एकीकरण भनिने हो । नेपालका बहुराष्ट्रियताहरुबीच एकता भएको छैन ।