गलत नीतिका कारण नेपाल अल्पविकसित देशको सूचीमा पर्‍यो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको देश नेपाल अल्पविकसित देशहरुको सूचीमा गएको बताएका छन् ।

मंगलबार राजविराजमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरिङ  कलेजको भवन उद्घाटन गर्दै उनले यो कुरा बताएका हुन् ।

वर्षेनी करिब डेढ खर्ब रुपैयाँ शिक्षा आर्जनको नाममा विदेश गइरहेको बताउँदै उनले भने, ‘नेपालको शिक्षा तहस–नहस भएको छ । विकसित देशको सूचीमा पुर्‍याउन शिक्षा, कृषि, उद्योग र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन जरुरी छ ।’

दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले फड्को मारेको र छोटो समयमै सिंगापुर बदलिएको प्रसंग निकाल्दै अध्यक्ष यादवले चालिस वर्ष अघि अविकसित रहेको देश चीनले आफूलाई हाल संसारकै विकसित देशको रुपमा उभ्याएको बताए ।

उदारीकरण र निजीकरणका कारण औद्योगिक क्षेत्र वर्वाद हुँदै गएकोले शिक्षा क्षेत्रमा समेत व्यापक सुधारको आवश्यकता रहेको उनले बताए ।

राजविराजमा नर्सिङ कलेज, इन्जिनियरिङ कलेज र गजेन्द्रनारायण सिंह अस्पतालमा ४२० बेडको अत्याधुनिक पुर्वाधार समेत तयार भइसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘अब नर्सिङ कलेज, इन्जिनियरिङ कलेजमा पठन-पाठनको प्रक्रिया अगाडि बढाउनुपर्छ । रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठान निर्माणको समेत चाँडै अगाडि बढ्छ । अधुरा कामहरु पूरा गर्न हामी प्रतिबद्ध छौं ।’

जसपा नेतृ रेणुकुमारी यादवले सीके राउत नेतृत्वकाे जनमत पार्टीतर्फ इंगित गर्दै योगदानको कदर गर्न तथा सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् ।

सप्तरीमा धेरै कामहरु गर्न बाँकी रहेकोले ती काम पूरा गरेर जस लिन आग्रह गर्दै उनले भनिन्, ‘मन्त्री माननीयले आफ्नो ओहदा त बुझ्नुपर्‍यो । राजविराजमा कन्या छात्रावासको काम पूरा गराएर जस लिन डा.साबलाई आग्रह छ । २०८४ मा १० लाख रोजगारी लगायतका झुठा आश्वासनको हिसाब जनताले लिनेछन् ।’

जसपा प्रवक्ता तथा प्रदेश सांसद मनिषकुमार सुमनले उपेन्द्र यादवको आगमनले सप्तरीमा विकासको मूल फुटेको बताए  ।

उनले भने, ‘खुद्रा काममा माननीय उपेन्द्र यादवले बजेट लगाउनुभएन । अब यहाँका विद्यार्थीले डाक्टर, इन्जिनियर बन्न पाउनेछन् । विदेश तथा देशकै ठुला सहर धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’

जनमत पार्टीले गैरराजनीतिक क्रियाकलाप गरिरहेको भन्दै उनले धैर्यताको बाँध तोड्ने अवस्था आउन नदिन जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्