चिउरी उर्फ ‘यिसी’को महत्ता

थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले यस वर्ष एउटा कार्यक्रम अगाडि सार्‍याे- खानेतेलमा आत्मनिर्भर हुने भनेर !

यो लक्ष्य प्राप्त गर्न आम किसानलाई मागेजति तोरीको बिउ निःशुल्क दियो । अहिले किसानका खेतबारी जताततै पहेलपुर देखिन्छन् ।

माघमा वर्षा भइदिएको थियो भने पक्कै खानेतेलको आयातमा कमी हुने थियो । विडम्बना वर्षा हुन सकेन । पानी नपरेकाले अपेक्षित तोरी उत्पादन हुन नसके पनि किसानहरूलाई सानै आकारको भए पनि फाइदा हुने नै छ ।

समृद्ध पालिका बनाउने अध्यक्षज्यूको अठोट सराहनीय नै छ । समृद्धि प्राप्त गर्ने दीर्घकालीन कैयौं उपायहरू छन् । तीमध्ये म एउटा प्रसंग उल्लेख गर्न चाहन्छु ।

सुन्दा हाँस्यास्पद लाग्ला । तर, कुरो सही छ ! म विस्वस्त छु । हामीले साच्चिकै यो काम गर्न सक्यौं भने हाम्रो गाउँपालिका समृद्ध हुने छ । वैदेशिक रोजगारीमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने छ ।

मलाई विश्वास छ हाम्रा अध्यक्षज्यूको यसतर्फ ध्यानाकर्षण हुने छ । आगामी बजेट बनाउँदा यसतर्फ रकम छुट्टिने छ ।

मैले उठान गर्न खोजेको कुरो एउटा वनस्पति विशेष चिउरीकाे हाे । जसले हाम्रो गरिबी अवस्थामाथि स्वर्णवर्षा गराइदिन्छ । महाअभियानकाे रूपमा यसलाई अघि बढाउनुपर्छ ।

थुलुङ दुधकोशी गाउँपालिकाले आगामी वर्षदेखि चिउरीरोपण कार्यक्रमलाई दीर्घकालीन परियोजनाका रुपमा अघि बढाउन आवश्यक छ ।

प्रत्येक सामुदायिक बनले आफ्नो क्षेत्रभित्र चिउरी रोप्ने वातावरणको निर्माण स्थानीय सरकारले गर्नुपर्छ । प्रत्येक नागरिकले आफ्नो सिमान्त जग्गामा व्यापक मात्रामा बिरुवा लगाउन ढिला गर्नु हुँदैन ।

चिउरी बहुउपयोगी वनस्पति हो । सिंगाे पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका अहम् छ । फागुन-चैतमा यो हरियै देखिन्छ । जंगलकाे हरियारी कायम राख्छ ।

यसका लागि पालिकाले वन कार्यालयसँग समन्वय गरी यथाशिघ्र नर्सरी उत्पादन गरिहाल्नु पर्छ । र, जसलाई जति चाहिएको छ त्यति नै उपलब्ध गराउनुपर्छ ।

कमसेकम एउटा सामुदायिक वनले पाँच हजार बिरुवा रोप्न सकोस् । औसत रुपमा एक व्यक्तिले पचाँस बोट आफ्नो बाँझो जग्गामा रोप्न उत्प्रेरित गरियोस् । अनुदानको व्यवस्था गरियोस् ।

यसो हुन सके हाम्रो गाउँपालिका आगामी दुई दशकभित्र देशकै सम्मन्नशाली बन्नेछ । समुन्नत हुनेछ ।

यसै मेसोमा चिउरीको महत्ताबारे थप केही उल्लेख गर्छुः-

चिउरी नेपाली नाउँ हो । थुलुङ भाषामा यिसी भनिन्छ । फिरंगीले राखेको नाउँ चाहिँ- इन्डियन बटर ट्री !

बेलायतीहरू भारत छिर्दा चिल्ला पात गरेको रुख देखे । लटरम्म फलेको फल देखे । पाकेका दानाको गुलियो स्वाद पाए । बियाँबाट घिउ निस्कने चाल पाए । अनि ठोकिदिए- इट्स नेम इन्डियन बटर ट्री ।

यसको वैज्ञानिक नाउँ चाहिँ डिप्लोकनेमा ब्युटिरेसी रहेछ । नेपाली नाउँ चिउरी भइगयो । थुलुङ राई भाषामा यिसी हो । हामीले गोराहरूलाई चिनाउँदा चाहिँ नेपाली बटर ट्री भन्नुपर्ला ।

चिउरी पतझर समूहमा पर्ने रुख हो । यसका पात चिल्ला र हरिया हुन्छन् । यसको अधिकतम उचाइ २० मिटरसम्म हुन्छ । मट्याइलो माटो भेटे २५ मिटरसम्म अग्ला पनि हुन्छन् । समुद्री सतह २०० मिटरदेखि १५०० मिटरसम्मकाे उचाइ चिउरीको लागि उपयुक्त मानिन्छ ।

चिउरीकाे बाेट

मध्यपहाडी क्षेत्र चिउरी सप्रिने मुख्य ठाउँ हो । अझ उत्तरी मोहोडा झनै असल हो । ढाँडढुँड परेको पाखा पखेरामा पनि चिउरी रोप्न सकिन्छ । राम्रो उर्बर जमिन छनौट गरिरहनुपर्दैन ।

चिउरी बहुउपयोगी वनस्पति हो । मानिसका लागि मात्र उपयोगी होइन । सिंगाे पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका अहम् छ । फागुन-चैतमा यो हरियै देखिन्छ । जंगलकाे हरियारी कायम राख्छ ।

यसका सबै चिज काम लाग्छन् । काठबाट फर्निचर उद्योग खोल्न सकिन्छ । हागाबिगालाई इन्धनमा प्रयोग गर्न सकिन्छ । बाख्रालाई डालेघाँस खुवाउन पनि सकिन्छ ।

चिउरी झुप्पाझुप्पा फल्छ र पाकेपछि गुलियो हुन्छ । जेठ असारमा फल पाक्छ । यसको रस दुध जस्तै सेतो हुन्छ, जुन धेरै पौष्टिक हुन्छ । सबै उमेर समूहका मान्छेले खान योग्य हुन्छ ।

फलभित्रको बियाँ झनै महत्वपूर्ण मानिन्छ । बियाँ महत्त्वपूर्ण मानिने एउटै कारण के छ भने यो भित्र तेलैतेल हुन्छ ।

एक पाथी चिउरीको बियाँबाट लगभग चार माना तेल (घिउ) निकाल्न सकिन्छ । चिउरीको तेललाई घिउ भनिन्छ । पेलेर निकालेको १५-२० मिनेटमै जम्ने भएकाले घिउ भनिएको होला !

चिउरीको घिउ भुटुनकाे रूपमा प्रयोग हुन्छ । सेलरोटी र अन्य खाद्य परिकारमा मज्जाले उपयोग गर्न सकिन्छ ।

धार्मिक उत्सवहरूमा बत्ती बाल्न प्रयोग हुन्छ । आजभोलि गुम्बाहरूमा बत्ती बाल्न चिउरीको घिउ बढी प्रयोग हुने गरेको छ ।

यसले बढ्दो खानेतेल आयातलाई प्रतिस्थापन गर्न सक्छ । साबुन कारखाना र विभिन्न लोसन बनाउन चिउरीको घिउ प्रयोग हुन्छ । वनस्पति घिउ बनाउने कारखानाले समेत यसैको घिउ प्रयोग गर्छन् ।

शम्भु निराैला

अर्को महत्त्वपूर्ण कुरा के छ भने घिउ निकालिसकेको पिना बालीनालीका लागि ठुलो मल मानिन्छ । पिनामा केही रासायनिक विषादी पनि भएकाले हानिकारक कमिला किरा आदि पनि मर्छन् ।

चिउरीको पिना हालिएको बालीको उत्पादकत्व उल्लेख्य मात्रामा बढ्छ । किसानहरूले सानो क्षेत्रमा लगाइएको फसलबाट धेरै फलाउँछन् । बियाँ, फल, घिउ र पिना बेचेर मनग्ये आम्दानी गर्छन् ।

यसै गरी चिउरीको फूल भनेपछि मौरीहरू मरिहत्ते गर्छन् । चिउरी फुलेको ठाउँमा मौरी पुगिहाल्छन् ।

फूलमा रस धेरै हुने भएकाले मौरीलाई चाका भर्न समय लाग्दैन । किनभने चिउरीका फूलका रसमा अत्यधिक चिनीको मात्रा हुन्छ ।

हामीले वनजंगल चिउरीमय बनाउन सक्यौं भने मह बेचेर लाखौं लाख कमाउन सक्छौ ! कैयौंलाई रोजगारी दिएर आफू मालिक बनेर ऐसकाे जिन्दगी जिउन सक्छौं ।

तर, आज हामीले परिश्रम चाहिँ गर्नुपर्छ । स्थानीय सरकारले हरेक किसानलाई साथ दिनै पर्छ । आज रोप्यो अर्को साल प्रतिफल लिने सोच बनाउनु हुँदैन ।

बिरुवा रोपेको १५ वर्षसम्म त धैर्य गर्नुपर्छ । त्यसपछि पैसै पैसा हुन्छ । ७५ वर्षसम्म चिउरीले अविछिन्न फल दिइरहन्छ ।

एउटा अर्को महत्त्वपूर्ण कुरो के छ भने यसले भूक्षय रोक्छ । जमिनकाे पानीको संचितीलाई टेवा दिन्छ । बढ्दो कार्बन उत्सर्जनलाई सोस्छ । अक्सिजनको मात्रा बढाउँछ । वनस्पतिविद्हरू यसै भन्छन् ।

उनीहरू के भन्छन् भने चिल्ला र ठुला पात हुने भएकाले चराचरुङ्गीहरूलाई जाडो र गर्मी दुइटै मौसममा बस्न चिउरी उपयुक्त हुन्छ ।

त्यसैले अहिले खनिएका बाटाका दुबैतिर चिउरीका बोट रोप्नुपर्छ । शीतलता पाइन्छ र पहिरो रोक्न सकिन्छ ।

अब बियाँ खाेजेर दल राखिहालाैं । असारमा राेप्नुपर्छ । हरियाली बनाउनुपर्छ ।

एस निरौला
कालिकादेवी मावि पन्चन
थुलुङ दुधकाेशी गापा-३, साेलुखुम्बु ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्