‘अधिकारका लागि ६० लाख दलित एकजुट हुनुपर्छ’

समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईंको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् ।

शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भएको दलित समुदाय एक हुने सुत्र खोज्नुपर्नेसमेत बताए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका सचेतक रणसिंह परियारले दलितले आफ्नो अधिकारको लागि एकजुट नहुँदा उत्पीडन खेप्नु परेको बताए ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका परियारले जुनसुकै पार्टीमा रहेपनि दलित अधिकारको लागि एकीकृत भएर लड्नुपर्ने धारणा राखे ।

परियारले १३ सयभन्दा बढी दलितले वर्तमान परिवर्तनका खातिर जनयुद्धमा बलिदान गरेर ल्याएको आजको व्यबस्थामा पनि दलितहरुले कहाली लाग्दो उत्पीडन खेप्नु परेकोमा दुःख व्यक्त गरे ।

पहिचानवादी नेता आङ्काजी शेर्पाले देशमा विशाल संख्यासहितको बाहुल्यता भएको दलित समुदाय एकजुट नभएका कारण अधिकारबाट च्यूत भएको जिकिर गरे ।

आदिवासी जनजाति महासंघका पूर्व महासचिबसमेत रहेका शेर्पाले अधिकार मागेर नभई खोस्नु पर्ने बताउँदै भने, “लातका भूत बातसे नही मान्ता’ भनेजस्तै जनयुद्धमा जस्तै सेना बनाएर लड्ने आँट गर्नुस् ।”

नेपालमा जतिसुकै परिवर्तन आए पनि आदिवासी–जनजाति र दलितलाई हर्ष न विस्मात भएकाे उनले बताए ।

शेर्पाले देशका हरेक पार्टीमा दलितहरु भाग खानलाई बस्नु गलत भएको बताउँदै भने, “तपाईहरु काँग्रेस, माओवादी र एमालेका झोले भएर बसे कहिल्यै अधिकार पाउनुहुन्न, तपाईहरुले पनि पार्टी खोल्नुस् ।”

पूर्व राजदूत डा.निर्मल विश्वकर्माले नेपालका कम्युनिस्टहरुले साम्यवादको नारा दिएर लडे पनि संघर्षपछि उनीहरु सामन्ती व्यवस्थाका पूजारी भएको आरोप लगाए ।

विश्वकर्माले संविधानमा समाजवाद उन्मुख भनिए पनि त्यतातिर भन्दा उल्टो तिर लागेको जिकीर गरे ।

कम्युनिस्टहरुले जसको जोत उसैको पोत भन्ने नारा दिएपनि झन उनिहरु सत्ता र शक्तिमा पुगेर नवसामन्त र जमिन्दार बन्ने गरेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य चन्देश्वर पासवानले एकल ब्राह्मणवादी नेपाली समाजको रुपान्तरणको लागि चाँडै मधेशमा बिद्रोह हुने चेतावनी दिए ।

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले २००३ सालदेखि नेपाली कांग्रेस र ६ सालदेखि कम्युनिस्टको नाममा हिन्दु वर्णाश्रम व्यवस्थाको कारण दलित उत्पीडनको जाँतोमा पिसिरहेको बताए ।

कम्युनिस्टहरु साम्यबादको ढ्वाङ फुकेर सामान्ती र दलाल व्यवस्थाका हिमायती भएको उनले आरोप लगाए ।

समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर बिकले मनुवादी जात व्यबस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको बताए ।

बिकले २१औं शताब् धीमा जनावरको अधिकार रक्षाको कुराको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यवहार खेप्नु दुर्भाग्य भएको बताए ।

समाजका उपमहासचिव मनिस बर्देवाले समाजवाद उन्मुख संविधान बनाए पनि त्यसको कार्यान्वयनका लागि पुनः दलित बिद्रोहको आवश्यकता रहेको बताए ।

भारतको परिसंघ दिल्लीका महासचिव डा.ओम सुधाले हिन्दुवादी जातीय वर्णव्यबस्थाको कारण सम्पूर्ण दलितले चाहे भारत या चाहे नेपालमा ठुलो कष्ट भोग्नु परेको बतए ।

भारतको भिम सैनिक दलका अध्यक्ष चन्दन कुमार पासवान आफूहरुले भारत होस् या नेपाल दुबै देशमा कथित उच र निच जातीय व्यबस्थाबाट उत्पीडित जनताको लागि आवाज उठाइरहेकाे बताए ।

श्रमिक जनता पार्टी अध्यक्ष दुर्गा बराईली जहिले पनि सत्ता र शक्तिमा ब्राह्मणहरु हाबी हुने र दलितलाई झनै उत्पीडन दिने भएकोले लडाईं त्यतैतिर तेस्र्याउन जरुरी भएको बताए ।

तराई मधेस–महिला फाउण्डेसन नेपालकी अध्यक्ष सुनिता साहले हरेक दलित जागरुक बनेको खण्डमा वर्तमान उत्पीडनरुपी समाजको रुपरेखा बदल्न सकिने बताइन् ।

समता समाज नेपालका कार्यक्रम संयोजक प्रदिप घतालले दलितको योगदानबाट सत्तामा पुगेकाहरु मालिक बन्ने र पछि उनीहरुले वेवास्ता गर्ने भएकाले आफैले अधिकारको लागि लड्नुपर्ने धारणा राखे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्