खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाका कृषकले अब आफूले उत्पादन गरेका कृषिउपज सजिलै बिक्री गर्न पाउने भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले कृषकले उत्पादन गरेका तरकारी तथा कृषिउपजको मूल्य समेत निर्धारण गरी आइतबारदेखि हलेसी एग्रोमार्ट सञ्चालन गरेको छ ।

अब स्थानीय किसानले आफूले उत्पादन गरेका तरकारी जुनसुकै बेला पनि तोकिएको मूल्यमा बेच्न पाउने छन् ।

नगरपालिकाले गत आर्थिक वर्ष छुट्याएकाे १८ लाख ४४ हजार र चालु आर्थिक वर्षकाे १९ लाख ९४ हजारकाे लगानीमा चिस्यान केन्द्र र कृषिमार्ट भवन निर्माण गरेको हो ।

नगरपालिकाले कृषिमार्ट भवनमा निजी क्षेत्रलाई मार्ट सञ्चालन गर्ने अनुमति दिएकाे छ ।

आइतबार स्थानीय राजनीतिक दलका प्रतिनिधि, कृषक र सरोकारवालाहरुकाे उपस्थितिमा नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले हलेसी एग्रोमार्टकाे उद्घाटन गरे ।

कार्यक्रममा कृषकहरु आलु, प्याज, कोभी, बन्दा, मुला, काक्रोलगायत आफूले उत्पादन गरेकाे सामानसहित उपस्थित भएका थिए ।

नगरपालिकाले केही दिनअघि नगरक्षेत्रका कृषक र होटल व्यवसायीहरुसँग छलफल गरेर तरकारीको मूल्य निर्धारण गरेको थियो ।

उक्त मूल्य समय अनुसार परिमार्जन गरिने छ ।

कार्यक्रममा नगरप्रमुख राईले विगतमा जस्ताे कृषकका उत्पादनहरु बिक्री नहुने र उचित मूल्य नपाउने समस्या अब समाधान भएको बताइन् ।

कृषिमार्ट सञ्चालकले कृषकबाट लिएकाे सामानमा २० प्रतिशत मात्र नाफा खाएर बेच्न पाउने छन् ।

Please enter your comment!
Please enter your name here