इलाम २ मा पहिचानवादीबाट डकेन्द्रसिंह थेगिम साझा उम्मेदवार

आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिंह थेगिम र केपी पालुङ्वामध्ये एकजना उम्मेदवार बन्ने भएका छन् ।

पहिचान आन्दोलनका अभियान्ता राम मादेनका अनुसार इलाम २ को उपनिर्वाचनमा थेगिम र पालुङ्वाको नाम सर्टलिस्ट गर्दै एकजनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

थेगिम हाल प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत हुन् ।

पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष हुन् । उनले २०७९ को निर्वाचन पनि लडेका थिए । त्यसबेला १ हजार २७२ मत पाएका थिए ।

सो क्षेत्रबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मतसहित विजयी भएका थिए ।

नेम्वाङकाे प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

पालुङ्वा २०७४ को निर्वाचनमा पनि इलाम २ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १ हजार ३०८ मत पाएको निर्वाचन आयोगले उल्लेख गरेकाे छ ।

२०७४ को निर्वाचनमा पनि एमालेका नेम्वाङ नै ३६ हजार ५१७ मत ल्याएर विजयी बनेका थिए । उनकाे ह्रदयघातका कारण गत भदौ २६ गते निधन भएको थियो ।

यसपटक पहिचानवादीहरुले पहिचानविरोधी भन्दै एमाले–कांग्रेसका उम्मेदवारलाई जित्न नदिने प्रयास अनुरुप साझा उम्मेदवार उठाउने तयारी गरेका हुन् ।

प्रदेश नं १ को नाम कोशी प्रदेश राखेपछि आन्दोलन थालेका उनीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउन सक्ने अवस्था छ ।

कोशी प्रदेशविरुद्धको आन्दोलन राजनीतिक भन्दा पनि पहिचान र सामाजिक भावनाबाट उठाइएकाे छ ।

तर आन्दोलनका अभियान्ताहरु नै दलगत रुपले एमाले, कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीका कार्यकर्ता पनि हुन् ।

हिजो मात्रै सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई हटाएर माओवादी–एमाले–रास्वपा–जसपा गठबन्धन बनाएका छन् ।

उनले फेरि एमालेसँग एकता गर्ने भन्दै वाम एकताको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया पनि दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्