कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न चुम्लुङको माग

किरात याक्थुङ चुम्लुङले कोशी प्रदेश नाम खारेज गरी ‘लिम्बुवान किरात’ प्रदेश राख्न माग गरेको छ ।

गत फागुन २४ र २५ गते इलाममा सम्पन्न २५औं राष्ट्रिय चुम्लुङले एकल जातीय-गोत्रीय नाम कोशी खारेज गरी लिम्बुवान किरात राख्न माग गरेको हो ।

चुम्लुङले लिम्बुवान किरात नराखे १८३१ को लिम्बु-गोर्खा सन्धिको आधारमा अरुणपूर्व मेचीसम्मको भूभागलाई आठौं प्रदेशको रुपमा लिम्बुवान प्रदेश निर्माण गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान १४ जिल्ला समेटिएको प्रदेश नं १ लाई लिम्बुवान किरात नामाङ्कन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवम् संवत् १८३१ को लिम्बु-गोर्खा सन्धिको आधारमा अरुणपूर्व मेचीसम्मको भूक्षेत्रमा लिम्बुवान आठौ प्रदेश निर्माण गर्न यो बैठक जोडदार माग गर्दछ ।’

चुम्लुङले ताप्लेजुङको धार्मिक क्षेत्र मुक्कुमलुङ (पाथीभरा)मा दश हजारभन्दा बढी याक्थुङ मुन्दुमी रुखविरुवा कटान गरी केवलकार निर्माण गर्न लागिएकाे भन्दै उक्त निर्माण तत्काल रोक्न माग गरेको छ ।

मुक्कुमलुङ जस्तो पवित्र स्थलमा केवलकार निर्माण नगरी पैदल नै हिँडेर जाने व्यवस्था गर्दा त्यसको महत्व र गरिमा कायम रहने चुम्लुङकाे ठहर छ ।

यसैगरी, याङवरक थुमको थर्पुमा रहेको ऐतिहासिक याङवरकमा नागको प्रतिमा राखी हिन्दु धार्मिक अतिक्रमण गर्न लागिएको र निसान मेलाको नाममा लिम्बुवान भूमिमा सैनिकीकरण गर्न लागिएको भन्दै त्यस्तो कार्य नगर्न सरकारसँग माग गरेको छ ।

२५औं चुम्लुङपछि ३० बुँदे माग प्रेस विज्ञप्ति जारी गरिएकाे छ ।

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरू,

किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय चुम्लुङ मिति २०८० फागुन २४ र २५ गते लिम्बुवान, इलाम जिल्लाको इलाम बजारमा संस्थाका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

प्रदेश नं. १ का पूर्व प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय खिनु लङ्वाले २५ औँ राष्ट्रिय चुम्लुङको उद्घाटन गर्नुभएको थियो । यस राष्ट्रिय चुम्लुङमा इलाम, पान्थर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, सङ्खुवासभा, धनकुटा र ताप्लेजुङ जिल्ला कार्य समितिहरू, लिम्बुवान प्रदेश समिति, नेवा: ताम्सालिङ प्रदेश समिति, विषयगत सङ्गठनहरू, थरगत तथा लिम्बुजन्य संस्थाहरू र विदेश स्थित किरात याक्थुङ चुम्लुङहरूबाट प्रतिवेदनहरू प्रस्तुत भएका थिए । उक्त चुम्लुङ बैठकमा संस्थाको सङ्गठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन एवम् समसामयिक प्रस्तावहरू छलफल गरी पारित गरियो ।

समसामयिक प्रस्तावहरू

१. सूचनाको हकबाट वञ्चित गराउँदै सरोकारवालासँग छलफल नै नगरी अलोकतान्त्रिक तरिकाले २०७९ फागुन १७ गते राखिएको एकल जातीय/गोत्रीय ‘कोशी’ नाम अस्वीकृत गर्दै राष्ट्रिय चुम्लुङ पुन: घोर, विरोध, आपति, निन्दा र भर्तसना गर्दछ । साथै वर्तमान १४ जिल्ला समेटिएको प्रदेश नं. १ लाई ‘लिम्बुवान, किरात’ नामाङ्कन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवम् संवत् १८३१ को लिम्बु–गोर्खा सन्धिको आधारमा अरूण कोशीपूर्व मेचीसम्मको भू–क्षेत्रमा ‘लिम्बुवान’ आठौँ राज्य (प्रदेश) निर्माण गर्न यो बैठक जोडदार माग गर्दछ ।

२. स्थानीय जनता एवम् रैथाने आदिवासीको असहमतिको बाबजुद ताप्लेजुङ जिल्लाको पवित्र धार्मिक क्षेत्र मुक्कुम्लुङमा दस हजार भन्दा बढी याक्थुङ/लिम्बु मुन्धुमी रूख विरूवा कटान गर्दै देवी देउतामाथि बन्न लागेको केवलकार निर्माण योजना तत्काल खारेज गर्न र सो केवलकार निर्माण सफल बनाउन सशस्त्र प्रहरी बलको बेसक्याम निर्माण तत्काल रोक्न यो बैठक जोडदार माग गर्दछ । संसारका पवित्र धार्मिक स्थानमा पैदल हिँड्नु पर्ने मान्यता छ । त्यसै गरी मुक्कुम्लुङ जस्तो पवित्र स्थलमा केवलकार निर्माण नगरी पैदल नै हिँड्दा यसको महत्व र गरिमा बढ्ने भएकोले केवलकार निर्माणको प्रयास आजकै मितिबाट अन्त्य गरियोस् भनी यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।

३. याङ्वारक थुमको थर्पुमा रहेको ऐतिहासिक ‘याङ्वारकमा नागको प्रतिमा राखी हिन्दू धार्मिक अतिक्रमण गर्न लागिएको र निसान मेलाको नाममा लिम्बुवान भूमिमा सैनिकिरण गर्न लागिएको सूचना प्राप्त भएकाले यस्तो कार्य नगर्न नगराउन यो बैठक सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।

४. साङ्धुङगेहाङ सेरेङ लिङथेप थरी लिम्बुहरूले फेचुवा यकको रूपमा मान्दै पुज्दै आएको ऐतिहासिक गढी ‘ताक्तीफोमा यक’ माविलुङ हाइड्रोपावरले अतिक्रमण गर्न लागेको कार्यको विरोध गर्दै यस्ता ऐतिहासिक धरोहरहरू विकासको नाममा विनास नगर्न यो बैठक सम्बन्धित पक्षलाई सचेत गर्दछ ।

५. लिम्बु र मैथिली भाषालाई प्रदेश नम्बर १ मा सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न भाषा आयोगले सिफारिस गरी यसको कार्यान्वयनको लागि निर्माण भएको मस्यौदा विधेयक बनेकोमा यो प्रदेश सभाले पारित गरी कार्यान्वयन गर्न पर्नेमा सो कार्य नगरेकोमा प्रदेश सभाप्रति यो बैठक खेद व्यक्त गर्दछ । साथै अविलम्ब पारित र कार्यान्वयन गराउन यो बैठक जोडदार माग गर्दछ ।

६. प्रदेश नं. १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिको आन्दोलनमा घाइते भएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै पक्राउ परी रिहाई भएका एवम् जेल जीवन बिताई रहेको सम्पूर्ण योद्धाहरूमा यो राष्ट्रिय चुम्लुङ हार्दिक सम्मान व्यक्त गर्दछ । साथै यस आन्दोलनमा लगाईएका झुटा मुद्दाहरू अविलम्ब फिर्ता लिन, घाइतेहरूको उपचार व्यवस्था गर्न, सहिद लाजेहाङको क्षतिपूर्ति अविलम्ब भुक्तानी गर्न र पुर्पक्षका लागि थुनामा रहेको आषिस लिम्बुलाई रिहाई गर्न यो बैठक जोडदार माग गर्दछ ।

७. याक्थुङ/लिम्बु आदिवासीहरूको ऐतिहासिक, स्थल, थिबोङ याक्थुङ यक (गढ्र/गढी), किल्ला, राजधानी, चुम्लुङ स्थल, सामुहिक पूजास्थलहरू (यक्वादेन, चासो:क्देन, माङ्हुक्वादेन, खामवादाम्मादेÞन, माङ्गेन्नादेन, माङ्युक्ना/माङधाना आदि), समाधिस्थलहरू, मुन्धुममा वर्णित स्थलहरू (जस्तै: नाङ्खोल्याङ स्थित केसापलुङ, सुवावा (सवेवा) आदि), आस्थाका धरोहर (मुक्कुम्लुङ, सेसेलुङ, वाधिनलुङ, फक्ताङ्लुङ, मेन्छ्यायेम आदि)हरू अविलम्ब सम्बन्धित स्थानीय याक्थुङ/लिम्बु आदिवासीको नाममा अभिलेखिकरण सूचिकरण र संरक्षण गर्न गराउन यो बैठक जोडदार माग गर्दछ ।

८. पान्थर जिल्लाको नाम्भुन यकमा समाज सुधारक फाल्गुनन्दको सालिक राख्ने क्रममा भएको आपसी विवाद समाधिस्थलको संरक्षण गर्दै आपसी सहमतिकै आधारमा विवादको निरूपण गर्न सम्बन्धित पक्षहरूलाई यो बैठक लुङ्मेन्दिङ अनुरोध गर्दछ ।

९. नेपालीकरण, संस्कृतकरण गरी औपनिवेशिकीकरण गरिएका लिम्बुवानका स्थानीय स्थान नामहरू लिम्बु/याक्थुङ भाषामा अविलम्ब सच्याई अभिलेखिकरण/सूचिकरण गर्न यो बैठक जोडदार माग गर्दछ ।

१०. राज्यको सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजनको क्रममा लिम्बुवान क्षेत्रका लिम्बु/याक्थुङहरूको भूमि, भाषा, लिपि, शिक्षा, संस्कृति लगायतमा प्राथमिक्ताका साथ बजेट विनियोजन गर्न यो राष्ट्रिय चुम्लुङ माग गर्दछ ।

११. याक्थुङ लिम्बुको मुन्धुमी सोधुङ वारकमा रिम्पोचेको मूर्ति बनाउन लागेको सूचना प्राप्त भएकोले सो कार्य नगर्न नगराउन सम्बन्धित् सवै पक्षलाई यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।

१२. याक्थुङ मुन्धुममा उल्लेख भएको मेन्छ्यायेम थेगुलाई तरूनी डाँडा बनाउन लागिएको सूचना प्राप्त भएकोले यस्तो कार्य नगर्न नगराउन यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।

१३. पान्थरको ऐतिहासिक इधुङदेन/इधुङ–वारकलाई साधुटार भनी प्रचार प्रसार भएकोले साधुटारलाई इधुङ्देन/इधुङ–वारक नाम नै कायम गर्न गराउन यो राष्ट्रिय चुम्लुङ अनुरोध गर्दछ ।

१४. पेदाप पोक्लोबाङमा फेदाप गाउँपालिकाबाट निर्मित फेÞदापे पुर्खाको स्मारक याक्थुङ/लिम्बु पहिचान इतर पहिरन दौरा सुरुवाल लगाइएको पाइएकाले सो परिवर्तन गरी लिम्बु आदिवासीको पोषाक तागा लगाउन र याक्थुङ/लिम्बु आदिवासीहरूमा पुर्खाहरूको सालिक निर्माण गर्दा दौरा सुरूवाल लगाई दिने प्रचलन रोकी पुरूष भए तागा र महिला भए मेख्लीको प्रयोग गर्न सम्बन्धित सवैमा यो राष्ट्रिय चुम्लुङ लुङमेन्दिङ अनुरोध गर्दछ ।

१५. धनकुटा जिल्लाको चौबिसे गाउँपालिका अन्तरगत साविक बोधे गाविसमा पर्ने हाङ्सेम्मालुङ तम्बर नदीको कटानको जोखिममा रहेकोले सम्बन्धित गाउँपालिकाले कियाचु चौबिसे गाउँपाकिला, कियाचु धनकुटासँग समन्वय गरी अविलम्ब संरक्षण योजना बनाई कार्यान्वयन गरोस् भनी यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।

१६. याङवारक गाउँपालिका ताप्लेजुङको साविक थेचम्बु भित्र पर्ने येमानी वारक मकैबारीको रूपमा परिणत भएको सूचना प्राप्त भएकोले सम्बन्धित गाउँपालिका/वडा पालिकाले सम्बन्धित व्यक्तिसँग समन्वय गरी संरक्षण गर्न यो बैठक जोडदार माग गर्दछ ।

१७. धरानको बुढासुब्बा मन्दिरको प्रवेशद्वारमा गणेश मन्दिर स्थापना भएको सूचना प्राप्त भएकोले बुढासुब्बाको महिमा आफैमा महत्वपूर्ण रहेकोले यस्ता प्राचीन मन्दिरहरूमा हिन्दू अतिक्रमण नर्गन नगराउन र स्थापना गरिएको गणेश मन्दिर सो ठाउँबाट हटाई दिन सम्बन्धित पक्षलाई यो बैठक सचेत गराउँदछ ।

१८. इसिमोड लगायतका सरकारी तथा गैरसरकारी एनजीओ तथा आईएनजीओहरूले नेपालको हिमालय रेन्जलाई कथित ‘हिन्दूकुश हिमालय रेन्ज’ नामकरण गरी साम्प्रदायिक कार्य गरेकाले यस्तो कार्य नगर्न नगराउन यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।

१९. सार्वजनिक/सामुदायिक लगायतका विद्यालय तथा क्याम्पसहरूमा पुराण लगाउने, सरस्वतीको मन्दिर बनाउने, दसैँ विदापूर्व दसरा पार्टीको आयोजना गर्ने, विद्यालयहरूमा धार्मिक गतिविधि गर्ने गर्दै आएकाले यस्ता साम्प्रदायिक कृयाकलाप साझा विद्यालयहरूमा नगर्न नगराउन यो राष्ट्रिय चुम्लुङ सचेत गराउँदछ ।

२०. स्थानीय रैथाने स्थान नामहरू नेपालीकरण तथा संस्कृतकरण गर्ने परिपाटीको विकास तिब्र भएकाले यस्तो कार्य रोकी सबै प्रकारका स्थान नामहरू स्थानीय भाषामा राख्न र नेपालीकरण तथा संस्कृतकरण गरिएका नामहरूलाई पुन: स्थानीय रैथाने आदिवासीहरूको भाषामा नाम राख्न यो राष्ट्रिय चुम्लुङ अनुरोध गर्दछ ।

२१. इलाम जिल्लामा लिम्बुवान राज्य आन्दोलनको क्रममा राज्यको तर्फबाट निर्मम रूपमा गोलि प्रहार गरी हत्या गरिएका वीर सहिद विजय बहादुर लिम्बु, प्रसाद सिंह फियाक लगायतका सहिदहरूले वीर गति प्राप्त गरेको स्थल इलाम जिल्लाको माङ्पारे (मङ्गलबारे)लाई ‘लिम्बुवान स्टेट’ सहिद भूमिको घोषणा गर्दै सहिद स्तम्भ र शालिक निर्माण गर्न सम्बन्धित गाउँपालिका/वडा पालिका/प्रदेश सरकारलाई यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ । यसको लागि कियाचुले आफ्नो तर्फको भूमिका सशक्त रूपमा निर्वाह गर्ने प्रतिवद्धा जाहेर गर्दछ ।

२२. इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उप–निर्वाचन लगायतका प्रदेश नं. १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिका निर्णयहरूलाई एकजुट भएर सशक्त रूपमा कार्यान्वयन गर्न र सफल पार्न क्रियाशील हुने प्रतिवद्धता जाहेर गर्दै सङ्घर्ष समितिका साझा निर्णयहरूलार्य साथ, सहयोग र सफल पार्न सम्बन्धित क्षेत्रका आम जनसमुदायहरूमा यो राष्ट्रिय चुम्लुङ लुङमेन्दिङ अनुरोध गर्दछ ।

२३. पञ्च वर्षीय योजना, विकास बजेट लगायतका सबै प्रकारका योजना निर्माण गर्दा सरोकारवाला याक्थुङ/लिम्बु र उनीहरूको साझा संस्था कियाचुलाई जानकारी नभएकाले सो कार्य गर्दा गराउँदा सरोकारवालालाई जानकारी दिन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।

२४. याक्थुङ/लिम्बु भाषा लिपि पठन पाठनमा शिक्षक दरबन्दी अविलम्ब सिर्जना गरी पठन पाठन सहज बनाउन, भाषा लिपिका लागि स्थानीय तहबाट बजेट विनियोजन गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।

२५. मुन्धुम निसाम (मुन्धुम शिक्षा) प्रारम्भ गर्न र याक्थुङ/लिम्बु भाषाको योजनाबद्ध ढङ्गले संरक्षण संवर्धन एवम् विकास गर्नका लागि याक्थुङ भाषा योजना कार्यान्वयन गर्न गराउन यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता जाहेर गर्दछ ।

२६. नेपालको चलचित्र विकास बोर्डको सेन्सर बोर्डले याक्थुङ रैथाने परम्परा, इतिहास, प्रथाजनित कानुन, रीतिरिवाजमा आधारित लिम्बु कथानक चलचित्रहरूलाई आनावश्यक झन्झट दिँदै विभेदपूर्ण रूपले सेन्सरसीप लगाउने गलत कार्य गर्दै आएको प्रति विरोध गर्दै यो निर्णायक बोर्डमा सम्बन्धित समुदायवाट उचित प्रतिनिधित्व सहित निर्णय प्रक्रिया निर्माण गरियोस भनी यो चुम्लुङ जोडधार माग गर्दछ ।

२७. याक्थुङ/लिम्बु राष्ट्रिय गान निर्माण, कियाचु साम्केलो केवाफुङ सङ्गीत पुरस्कार वितरण, किरात सिरिजङ्गा लिपिको युनिकोड निर्माण कार्यलाई निकट भविष्यमा पूरा गरी तान्छोप्पा अनलाइनमा सञ्चालन गर्ने लगायतका महत्वपूर्ण कार्यहरू तदारूकताका साथ सम्पन्न गर्ने यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता व्यक्त गर्दछ ।

२८. माथि उल्लेखित अतिक्रमित याक्थुङ/लिम्बुहरूको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थलहरूको विषयमा सचेत गराउँदा पनि अतिक्रमण नरोकिएको खण्डमा अतिक्रमण रोक्नका लागि पहल कदमी अगाडि बढाउन यो राष्ट्रिय चुम्लुङ प्रतिवद्धता जाहेर गर्दछ ।

२९. किरात याक्थुङ चुम्लुङ, राष्ट्रिय चुम्लुङको २६ औँ बैठक लिम्बुवानको झापा जिल्लामा गर्ने निर्णय गरियो ।

३०. किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय चुम्लुङ सफल पार्न उद्घाटन समारोहका प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिहरू, अहोरात्र क्रियाशील व्यवस्थापक जिल्ला कार्य समिति इलाम, आर्थिक सहयोग गर्ने स्थानीय गाउँपालिका/नगरपालिकाहरू, कियाचु देउमाई नगरपालिका, कियाचु फाकफोक थुम, कियाचु माई जोगमाई, कियाचु माई नगरपालिका, कियाचु सुर्योदय नगरपालिका, कियाचु माङ्सेबुङ गाउँपालिका, कियाचु इलाम नगरपालिका, कियाचु रोङ गाउँपालिका, कियाचु सन्दकपुरा गाउँपालिका, ग्रीन भ्याली एकेडेमी बोर्डिङ स्कूल, इलाइट एकेडेमी बोर्डिङ स्कूल, मन्टेस्वरी बोर्डिङ स्कूल इलाम, स्थानीय सहयोगी दाताहरू एवम् प्रकारले नेपाल पत्रकार महासङ्घ इलाम, मिडिया हाउसहरू, नयाँ बुलन्द डट कम र सम्पूर्ण पत्रकाहरू, जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण सुरक्षाकर्मीहरू, माङमालुङ कम्प्युटर सिस्टम इलाम, महेन्द्र बहुमुखी क्याम्पस इलाम, इलाम नगरपालिका तथा नगर प्रहरी, लिम्बु विद्यार्थी मञ्च शाखा इलाम, याक्थुङ युवा मञ्च इलाम, लिम्बु सांस्कृतिक परिषद्, लिम्बु पत्रकार सङ्घ, याक्थुङ फा?सिङ सजुम इलाम, केलाङ समूहरू: कियाचु झापा कमल ३ र ७ वडा कार्य समिति, कियाचु चुलाचुली गाउँ कार्य समिति, कियाचु फाकफोक गाउँ कार्य समिति, कियाचु सन्दकपुर गाउँ कार्य समिति, कियाचु माईजोगमाई गाउँ कार्य समिति, कियाचु रोङ गाउँ कार्य समिति, कियाचु इलाम नगर कार्य समिति, कियाचु माई नगर कार्य समिित, कियाचु सुर्योदय गाउँ कार्य समति, कियाचु देउमाई नगर समिति, धुसेनी केलाङ समूह, जितपुर मोरोहाङ केलाङ समूह, सुतुलङ केलाङ समूह कियाचु वडा ५ कार्य समिति इलाम (बरवोटे), नारी विकास सङ्घ इलाम, फ्रेन्डस होटल इलाम, न्यूडिस होटल इलाम, ग्रीन भ्यु होटल इलाम, ब्यानर, ब्याज, साउन्ड सिस्टम सौजन्यदाताहरू क्याटरिङ समूह लगायत सम्पूर्ण सहयोगदाताहरू, स्वयम् सेवकहरू, केला:ङ एवम् गायक कलाकारहरू, प्राविधिक सहयोगीहरू, सम्पूर्ण प्रतिनिधिहरू, उपस्थित अन्य महानुभावहरू सबैलाई यो राष्ट्रिय चुम्लुङ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

नोगेन् सेवा रो !
मिति: २०८० फागुन २६ गते

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्