खोटाङ सेवा समाज युकेले खोटाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

खोटाङ सेवा समाज युकेले खोटाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाे छ ।

स्वास्थ्य शिविर यही चैत १६ देखि २३ गतेसम्म अलग अलग चिकित्सकहरुको टिम बनाएर सबै पालिकामा सञ्चालन गरिने छ ।

खोटाङ सेवा समाज युकेले ‘मातृभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नारासहित स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा डाक्टर, नर्स, हेल्पर गरी ७२ जना चिकित्सक खटिने कार्यक्रमका संयोजक प्रसाद राईले हिजो युकेमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार प्रत्येक टिममा ५ देखि ७ जना डाक्टर र ३ जना नर्स रहने छन् ।

शिविर एक स्थानमा दुई दिनसम्म चल्ने छ । त्यसमा सबै क्षेत्रका डाक्टरहरुको व्यवस्था गर्ने प्रयास गरिएको खोटाङ सेवा समाज युकेका उपाध्यक्ष समेत रहेका संयोजक राईले बताए ।

खोटाङ सेवा समाज युकेले सुरुमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गर्ने र शिविर समापनपछि के कति दबाइहरु वितरण भए, कति मानिस लाभान्वित भए भन्नेबारे जानकारी दिनेछ ।

खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयु राईले मातृभूमिलाई योगदान गर्ने निरन्तरताको रुपमै स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताए ।

उनले संस्था स्थापना भएदेखि नै मातृभूमिका लागि कामहरु गर्दै आएको र हाल तयारी गरिएकाे स्वास्थ्य शिविर त्यसैको निरन्तरता भएको बताए ।

खोटाङ सेवा समाज युकेले यसअघि खोटाङका जनताका लागि ७ वटा एम्बुलेन्स प्रदान गरेको थियो भने कोभिड १९ को महामारीमा २४ लाख बढीको सामग्री सहयोग गरेको थियो ।

पत्रकार सम्मेलनमा यसै मौकामा १ लाख रुपैयाँको नागरिक सम्मान पुरस्कार र ५० हजारको नवप्रतिभा पुरस्कार पनि प्रदान गर्ने जानकारी गराइएको छ ।

दुवै पुरस्कार हरेक ३ वर्षमा दिने गरिएको छ ।

नागरिक सम्मान पुरस्कार खोटाङबासीका लागि सेवा गरेका एक असल व्यक्तिलाई दिइने छ भने नवप्रतिभा पुरस्कार ४० वर्षमुनिको एक प्रतिभाशाली व्यक्तिलाई दिइने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्