‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ यस नेपाली भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् ।
नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक ४०-५० हजार रुपैयाँ कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् ।
उनीहरु भन्छन्- ‘स्वदेशमा न त कुनै जागिर नै छ । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन ।’
तर जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।
उनले सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेका छन् ।
बिहानदेखि बेलुकासम्म निरन्तर आफ्नाे व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुन् उनी ।
व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको उनकाे अनुमान छ ।
बिहान सबेरै उठेर दूध संकलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरुको घरदैलोमा पुग्छन् उनी ।
राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरुको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरुलाई समेत रोजगार दिँदै आएका छन् ।
विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका–२ बाट उम्मेदवारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोचमा लागेकाे उनी सुनाउँछन् ।
‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक ४०-५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ’, उनले भने ।
उनले २०७९ मंसिरबाट कोठा भाडामा लिइ दूध संकलन गरी दूध र दही बिक्री गर्न थाले ।
व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको आवश्यकता महसुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए ।
उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन ।
यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप–ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए र उनी गाउँपालिकाको सिफारिसमा तालिमका लागि छनोट पनि भए ।
उनी २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए ।
तालिममा देशभरबाट जम्मा भएका नवउद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो ।
तालिमपश्चात परिश्रम नै सबैभन्दा ठुलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भई उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गरे ।
उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिम जस्ता परिकारहरु नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाले ।
तालिमपश्चात् उनको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरु उत्पादन गरी व्यवसायलाई बिस्तार पनि गरे ।
व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरहेका छन् ।
उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरु अप्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् ।
व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको उनकाे अनुमान छ ।
यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधीउपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गरेका छन् ।
व्यवसायलाई अझ दिगो र विस्तारित रुपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उनको भनाइ छ ।
चार माउभैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताए ।
गाउँघर र छिमेकीहरुलाई समेत पशुपालन र दूध उत्पादनमा उनले प्रोत्साहन गर्दै आएका छन् ।
सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ ।
जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताए ।
‘जिल्लाका किसानहरुले परम्परागत ढंगबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरु जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन’, राईले भने ।
जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभई दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ । दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरु धेरै माग रहेको उनले बताए ।
उत्पादित वस्तुहरुलाई सहज बिक्री वितरणका लागि काठमाडौँका बजारहरु तथा अन्तरराष्ट्रिय बजारहरुसँग समेत समन्वय गरिरहेको राई बताउँछन् ।
व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई यस्ता तालिमहरु खर्च गरेर भए पनि लिन छुटाउँदैनन् ।
रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तुहरु उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका हुन् ।
सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हाल्न सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ ।