हामीले भोगेरै भनेका हौ कि जसपा नेपालमा काम गर्नेको कदर हुँदैन, चाप्लुस र षड्यन्त्रकारीहरूको आदर हुन्छ! विधि-विधान र लोकतान्त्रिक मूल्य-मान्यताको कुनै अर्थ हुँदैन, स्वेच्छाचारी र निरंकुशताको बोलबाला हुन्छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टी (जसपा नेपाल)भित्र यो सुरुआतदेखि नै देखिँदै आएको रोग हो ।
उपेन्द्र यादवको पछिल्लो स्वेच्छाचारी प्रहार (षड्यन्त्रपूर्ण केन्द्रीय पदाधिकारी/कार्यकारिणी र सदस्यहरू चयन)ले यो रोग अब निको नहुने गरी फैलिइसकेको प्रष्टै हुन्छ । संगठन मजबुत पार्ने योगदानकर्ताहरूको अपमान गर्ने जसपा नेपालमा नियति नै बनिसकेको छ। त्यसैले उपेन्द्र यादव ‘नेता’ रहँदासम्म अब त्यहाँ सङ्घर्ष, पद्दति र विधि-प्रक्रियाले कुनै स्थान पाउने सम्भावना नै छैन ।
हामीलाई कस्तो उकुसमुकुसमा पारिएको थियो र सिध्याउनै भनेर कसरी जालझेल रचिएको थियो भन्ने आधारहरू अहिले जसपा नेपालकै कयौं साथीहरूले आफ्ना असन्तुष्टिहरूमार्फत अभिव्यक्त गरिरहनुभएको छ । हामी फेरि पनि भन्छौं, उपेन्द्र यादवको निरंकुशताका अगाडि कसैको संङ्घर्ष र सामर्थ्यको सुनुवाइ हुने गुन्जाइस छैन ।
यो कुरा बुझ्न हामीले धेरै महत्वपूर्ण समय गुमाएकोमा थोरबहुत अफसोस र दुख पक्कै छ, कामना गर्छौं- त्यहाँ अन्यायमा परेका साथीहरूले थप दुखमनाउ गर्नु नपरोस्!
विभाजन र नेताहरू लगातार बहिर्गमन भइरहनु उपेन्द्र यादव नेतृत्वको पार्टीमा नियमित आकस्मिकता जस्तै भइसकेको छ। मधेश तथा आदीवासी-जनजाति र जनयुद्ध लगायत आन्दोलनका प्रभावशाली नेतृत्वकर्ता किशोर विश्वास, भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, अमर यादव, विजयकुमार गच्छदार, जेपी गुप्ता, सरिता गिरि, महन्थ ठाकुर, बाबुराम भट्टराई, अशोक राई जस्ता व्यक्तित्व र उनीहरूको विचार समूहको अवमूल्यन गर्दै विभाजनमा धकेल्ने उपेन्द्र यादवको निरंकुश शैलीबाट भविष्यमा पनि विभाजन र बहिर्गमनका अरू अध्यायहरू थपिने निश्चित छ।
अधिकार प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने शहीद र तिनका परिवारहरूको समेत सम्मान नगर्ने, बरू उल्टो उनीहरूलाई भजाएर निरन्तर आफ्नो स्वार्थसिद्धिमा लागेका उपेन्द्र यादव र उनको पार्टीको पतन अवश्यम्भावी छ। आज कर्मठ नेता-कार्यकर्ता तहबाट यसको संकेत देखिन थालेको छ, ढिलोचाँडो जनताको तहबाट पनि परिणाम पक्कै देखिने छ।
मधेसको मुद्दालाई विगतदेखि नै भजाएर आफ्नो स्वार्थ पूर्ति गर्ने उपेन्द्र यादवको निरकुंश र स्वच्छाचारी प्रवृतीलाई अझै पनि कहिलेसम्म सहेर बस्ने साथीहरु ? पार्टीभित्रको अलोकतान्त्रिक, स्वच्छाचारी र तदर्थवादमा रमाउने उपेन्द्र यादव प्रवृतिलाई चिर्न तपाईहरुले अव आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छैन र ?
पार्टीभित्र अध्यक्षको हैकमवादी र एकलौटी निरंकुशवादी चरित्र सहेर आफुहरुलाई परेको अन्याय र अत्याचारविरुद्ध बोल्न सक्नुहुन्न भने आम नागरिकको हित र उनीहरुले सदियौदेखि भोग्दै आएका दुख, पिडा र अत्याचारविरुद्ध कसले आवाज उठाउने ?
तसर्थ, आउनुहोस् लोकतान्त्रिक मुल्य मान्यता र आत्मसम्मानलाई अगिंकार गर्दै राजनीतिक सहकार्यका लागि छलफल गरौ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पार्टी नेतृत्व अलोकतान्त्रिक र निरंकुशवादी भए त्यसले जनताको भलो किमार्थ गर्न सक्दैन । त्यसैले पार्टीमा विधि र पद्धतिलाई सर्वोपरी ठानेर राजनीतिक हातेमालो गरौ, त्यसका लागि हाम्रो पार्टी (जनता समाजवादी पार्टी) सदैव तयार छ ।
(याे सामग्री मोहम्मद इस्तियाक राईकाे फेसबुकबाट साभार गरिएकाे हाे, उनी जनता समाजवादी पार्टीका महासचिव हुन् । स.)