३०१० मिटर उचाइमा रहेको किराती मुन्दुमी तथा सांस्कृतिक स्थल टेम्केडाँडामा साे स्थानकाे ऐतिहासिक तथा सांस्कृतिक जानकारी दिने नयाँ बोर्ड राखिएकाे छ ।
हालै खाेटाङ र भाेजपुरकाे सीमामा रहेकाे टेम्केडाँडामा ‘टेम्केचोङ’ नामकाे बाेर्ड राखिएकाे हाे ।
सांस्कृतिक अभियान्ता वीरबहादुर राईले उक्त बोर्डमा लेखिएकाे जानकारीमूलक सामग्री फेसबुकमा राखेका छन् ।
जुन यस प्रकार छः
१ टेम्के
मुन्दुमी नामः रुमाचुङ (बान्तावा राई)
मुन्दुमी नामः तेर्पाचुङ (चाम्लिङ राई)
नछुङ/दोवाहरूले मुन्दुमी यात्रा गर्दा अनिवार्य पुकार र विश्राम गर्ने पवित्र पुर्ख्यौली स्थल हो टेम्के । टेम्केको नाम पुकार गरेपछि नछुङ/दोवाहरूले भ्याकुरा सिली, न्याउली सिली, मुनाल सिलीलगायतका सिली गर्छन् । उहिले नावा (हात्ती) ले टेम्केलाई परिक्रमा गरेर पान्धारेको बस्तीतिर झर्ने (नावाधा तेनतेनयु) हुनाले बान्तावा मुन्दुममा टेम्केलाई सम्बोधन गर्दा ‘नावाचोम टेम्केचोम’ भनिन्छ । चाम्लिङ मुन्दुममा चाहिँ ‘तेर्पाचुङ उम्धिचुङ’ भनेर सम्बोधन गरिन्छ ।
२ आप्तिरूङ खाम (सिद्धसिकारी थान)
उहिले किराती पुर्खाहरूले जीविका चलाउन शिकार खेल्ने प्रमुख स्थानमध्ये पर्थ्यो टेम्के र मैयुङ । किरातीहरूले सिकार मारेपछि सर्वप्रथम प्रकृति र पुर्खालाई अर्पण गरेपछि मात्रै सबैले बिलो बाँडेर खाने गर्थे । टेम्केमा पनि ठूलो शिलाढुङ्गा स्थापना गरेर आप्तिरूङ (शिकारी पुर्खाहरू) को नाममा चढाउने गर्थे । उहिल्यै उहिल्यै किराती पुर्खाहरूले यही आप्तिरूङ खाम (शिद्धसिकारी थान) मा शिकार चढाउने गर्थे । शिकार खेल्न छाडे पनि पुर्खाहरूको स्मृतिमा किरातीहरूले आप्तिरूङ खाम (शिद्धसिकारी थान) मा पूजाआजा गर्ने प्रचलन सुरु भएको हो । पछि अन्य जातजातिको पनि आप्तिरूङ खाम (शिद्धसिकारी थान) को पूजाआजा गर्ने गरेका छन् ।
३ भुसुरी-वाछाप्पा खाम
काठमाडौँ उपत्यकाबाट लिच्छवि वंशका राजाहरूबाट पराजित भएपछि किरात राजा र उनका निकट वंशहरू पूर्वतर्फ लाग्ने क्रममा खुवालुङबाट दिक्तेल हुँदै भुसुरी, वाछाप्पा र छोछाप्पा (छाङ्छा) टेम्केमा आइपुगे । तीन दाजुभाइले टेम्केडाँडाबाट चारैतिर हेरेर आफूलाई मन परेको भूगोल छनौट गर्दा यही स्थान (खाम) मा उभिएर पश्चिमतर्फ हेर्दै भुसुरीले लामाखु क्षेत्र र वाछाप्पाले दिक्तेल क्षेत्र रोजेर बसोबास गरेका थिए ।
४ छोछापा (छाङ्छा) खाम
काठमाडौं उपत्यकाबाट लिच्छवि वंशका राजाहरूबाट पराजित भएपछि किरात राजा र उनका निकट वंशहरू पूर्वतर्फ लाग्ने क्रममा खुवालुङबाट दिक्तेल हुँदै भुसुरी, वाछाप्पा र छोछाप्पा (छाङ्छा) टेम्केमा आइपुगे । तीन दाजुभाइले टेम्केडाँडाबाट चारैतिर हेरेर आफूलाई मन परेको भूगोल छनौट गर्दा छोछाप्पा (छाङ्छा) ले यही स्थान (खाम) मा उभिएर पूर्वतर्फ हेर्दै टेम्के–मैयुङ गाउँपालिका क्षेत्र रोजेर बसोबास गरेका थिए ।
५ खोटेहाङ जोङ (सुरक्षा किल्ला)
खोटाङ गढीका किरात राजा खोटेहाङले आफ्नो स्थानीय राज्य सुरक्षाका लागि टेम्केमा जोङ (किल्ला) स्थापना गरेका थिए । खोटेहाङकै नामबाट खोटाङ जिल्लाको नामकरण हुन पुगेको हो । किरातीहरूमा परम्परागत विधिद्वारा जनताले निर्वाचित गर्ने खोटेहाङजस्ता किराती जनप्रतिनिधिहरूले त्यसबेला स्थानीय शासन सञ्चालन हुने गर्थ्यो । उनीहरूको स्थानीय स्वशासनको अन्त्य पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तारका क्रममा अन्त्य भएको हो ।