राज्यले मुक्कुमलुङ आन्दोलनकारीहरूमाथि व्यापक दमन तथा अन्धाधुन्ध गोली प्रहार गरेकाे घटनाप्रति कांग्रेस, माओवादी, नेकपा एस, जसपा, रास्वपा र नेकपाका नेताहरूले घोर भर्त्सना गरेका छन् ।
भोजपुरका विभिन्न दलका नेता तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै गत माघ १२ गतेको घटनाको भर्त्सना गरेका हुन् ।
कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद विनोद बान्तावा, माओवादी केन्द्रका प्रदेश सदस्य हर्कराज राई, जसपाका जिल्ला सचिव पनन राई, नेकपा एसका केन्द्रीय परिषद् सदस्य सिद्धिकुमार राई, रास्वपाका नगर नेता चन्द्र श्रेष्ठ, नेकपाका जिल्ला सचिव तिलक गुरुङ, १ नम्बर प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिका जिल्ला संयोजक विदुर राई, अरुण तेस्रो प्रभावित क्षेत्र संघर्ष समितिका संयोजक पाविहाङ राई, किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य गोकुल नाम्बुहाङ राई र भोजपुर उद्योग वाणिज्य संघका कर्ण मोक्तानले संयुक्त प्रेस विज्ञिप्त जारी गरेका छन् ।
जसमा संघर्षरत सरोकारवाला संघ-संस्था, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागितामा वार्ता गरी समस्याको समाधान गर्न र प्रहरीकाे गोली लागेर घाइते भएकाहरूको निःशुल्क उपचारकाे व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।