मुक्कुमलुङ गोली काण्डपछि घोषित यातायात बन्द माघ १९ गतेसम्म यथावत् रहनेछ ।
माघ २० र २१ गते भने लिम्बुवान बन्द गरिनेछ ।
उक्त दिनसम्ममा पनि मुक्कुमलुङ आन्दोलनका माग सम्बोधन नगरिए माघ २२ गतेदेखि अनिश्चितकालिन लिम्बुवान हडताल गरिनेछ ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहित दश लिम्बुजन्य संस्थाका प्रतिनिधिहरूले हिजो संयुक्त प्रेस विज्ञप्ति जारी गरी आन्दोलन थप सशक्त बनाउने कार्यक्रम ल्याएका हुन् ।
उनीहरूले प्रहरीले गिरफ्तार गरेका प्रदिप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई विनासर्त रिहा गर्नुपर्ने, मुक्कुमलुङमा केबलकार खारेज गर्नुपर्ने, काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरीहरूलाई फिर्ता गर्नुपर्ने र गोली लागेर गम्भीर घाइते भएकाहरूको आजीवन निर्वाहकाे व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
हाल आन्दोलनकारीहरूले केबलकार निर्माण गर्ने व्यवसायी चन्द्रप्रसाद ढकालकाे मुख्य स्वामित्व रहेकाे ग्लोबल आईएमई बैंकको खाताहरू बन्द गर्ने, उक्त कम्पनीका अन्य सेवाहरू पनि बहिष्कार गर्ने अभियान चलाइरहेका छन् ।
मुक्कुमलुङ आन्दोलन जारी रहेमा उक्त बैंक सेवाग्राहीहरूका लागि असुरक्षित र धराशायी बन्दै जाने छ ।