धरान उपमहानगरका मेयर हर्क साम्पाङले प्रकृति, संस्कृति र प्रविधिलाई सन्तुलन गरेर मात्रै विकास सम्भव हुने बताएका छन् ।

किरात समुदायको उभौली चाडको अवसरमा सोमबार किरात राई यायोक्खा धरान-१३ ले विजयपुरमा आयोजना गरेको उभौली साकेला कार्यक्रममा मेयर साम्पाङले प्रकृति, संस्कृति र प्रविधिलाई किरात राईहरूको तीनचुलासँग दाँजेर पनि हेर्न सकिने बताए ।

साम्पाङका अनुसार प्रकृति भनेको हाम्रो शरीर हो, संस्कृति भनेको हाम्रो सोच-विचार र मनोविज्ञान हो, र प्रविधि भनेको हाम्रो जीवन र संस्कृतिलाई बचाउनका लागि अपनाइने विधि हो ।

‘हामी अक्सिजनबिना बाँच्न सक्दैनौं, हामी खाना नखाइ बाँच्न सक्दैनौ, पानीबिना बाँच्न सक्दैनौं यो एउटा प्रकृति हो । संस्कृति भनेको चाहिँ हाम्रो सोच-विचार हो,’ उनले थपे, ‘प्रकृति र संस्कृति दुइटा कुरा मिलेर हाम्रो जीवन बन्यो, र हाम्रो जीवन र संस्कृतिलाई बचाउनका लागि हामीले अपनाउने उचित विधिलाई प्रविधि भन्नुपर्छ ।’

मान्छेको विकास प्रकृति, संस्कृति र प्रविधिले मात्रै हुने उनको तर्क छ ।

‘यी तीनवटा कुरा सन्तुलित भएर मात्रै हामी विकसित बन्न सक्छौं भन्ने मेरो बुझाइ हो,’ उनले भने ।

मेयर साम्पाङका अनुसार रुख-विरुवाहरूलाई हेर्ने, माटोलाई हेर्ने, ढुङ्गालाई हेर्ने, समुन्द्र र आकाशलाई हेर्ने मान्छेको नजरिया उसको संस्कृतिले तय गर्दछ ।

प्रकृति र संस्कृतिलाई मासेर वा बिर्सेर मान्छेले जीवन चलाउनै नसक्ने उनको दाबी छ ।

त्यही कारण आज हामीले ढोल-झ्याम्टा बजाएर साकेला नाच्दै संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपरिरहेको उनले बताए ।

सो अवसरमा उनले स-साना बच्चाहरूलाई किराती पोसाक लगाइदिएर कार्यक्रममा ल्याएकोमा ती बच्चाका अभिभावकहरूलाई धन्यवाद पनि दिए ।

सो क्रममा उनले हामीले आज पाश्चात्य शिक्षा र पाश्चात्य जीवनशैली अपनाएर त्यसैलाई आधुनिक भन्ठान्दा हाम्राे मौलिक संस्कृतिहरू गुमिरहेको र हामी गरिब पनि भइरहेको जिकिर गरे ।

किरातीहरूले जग्गा दलाली काम छाेडाैं

मेयर साम्पाङले किराती संस्कारमा हुर्केको मान्छेले माटो वा जग्गा बेचबिखन गर्ने कार्य गर्न नहुने बताए ।

‘हामी यस्तो संस्कृतिबाट आएका छौं कि माटोलाई पुजा गर्नुपर्छ भन्ने संस्कृतिबाट आएका छौं,’ उनले भने, ‘त्यसो भएकोले किराती कूलको मान्छेले यदि जग्गा दलाली गर्दै हुनुहुन्छ त्यसलाई छोड्नुपर्छ । माटोलाई पुज्ने मान्छेले माटोलाई काटेर बेच्नु हुँदैन ।’

माटोलाई आफ्नाे देवता र आमा ठान्ने किरातीहरूले माटोलाई बेचेर पैसा कमाए पनि कहिल्यै सुखी हुन नसक्ने उनले दाबी गरे ।

उनले हामी किरातीहरूलाई त हाम्रा पुर्खाहरूले माटोमा पसिना बगाएर त्यहाँबाट उब्जिएको उत्पादन बेचेर खानुपर्छ भनी सिकाएको र बेँसीदेखि लेकसम्म खेतबारी बिराएर छोडेको बताए ।

उनले भने, ‘त्यसकारण म भन्न चाहन्छु, माटो बेच्न छोडौ ।’

मेरा हातमा पानीफोका फुट्दैमा विकास हुँदैन, तर सन्देश दिइरहेकाे छु

मेयर साम्पाङले आफूले हातमा पानीको फोका फुटाएर मात्रै विकास सम्भव नहुने बताए ।

तर सुतिरहेका संस्कृति र समुदायलाई कर्कश आवाजमा एउटा सन्देश दिनका लागि आफूले श्रम गरेर हातमा पानीफोका फुटाइरहेको उनले बताए ।

‘धरान उपमहानगरको मेयरको हातमा पानीफोका फुटेर गइराखेको छ । किन पानीफोका फुटाएको त ? के गर्न खोजेको ? मैले पानीफोका फुटाउँदैमा विकास हुन्छ र ? हुँदैन, मलाई थाहा छ,’ उनले थपे, ‘तर म एउटा सन्देश दिन चाहन्छु । एउटा कर्कश आवाजमा त्यो सुतिरहेको समुदायलाई सुतिरहेको संस्कृतिलाई ब्युझाउन चाहन्छु ।’

सो क्रममा उनले आफ्ना राम्रा र नराम्रा पक्ष रहेको पनि स्वीकार गरे ।

उनले भने, ‘आज हर्क साम्पाङलाई जहाँ देख्नुहुन्छ फोटो खिच्नेको भिड हुन्छ । अलिकति विरोध पनि छ, तर धेरै चर्चा छ । चर्चा कसरी भयो भन्दाखेरि हर्क साम्पाङ जहिले पनि माटोलाई फोहोर नभनी टीका लगाएर हिँडेको मान्छे हो ।’

उनले ढोल-झ्याम्टा बजाएर एक महिनासम्म नाचेर मात्रै किराती नभइने प्रष्ट पारे ।

उनले माटोलाई खनजोत नगर्ने व्यक्ति किराती हुनै नसक्ने तर्क गरे ।

उनले भने, ‘हाम्रो पुर्खाले हामीलाई के भनेर सिकाउनुभएको थियो भन्दाखेरि यो माटोसँग जोडिएर बस, माटोको खनजोत गर भनेर तल बेसीदेखि माथि लेकसम्म खेतबारीहरू बिराइदिनुभो । आज ती खेतबारीहरू हामीले छोडेर त्यसलाई बेचेर हामी अर्कै भइसक्यौं ।’

सो क्रममा उनले सोमबार बुद्धजयन्ती पनि भएकाेले सोको शुभकामना पनि दिए ।

साे क्रममा उनले आज हाम्रो समुदायका भाइभतिजहरू एकप्लेट चाउमिन, एकप्लेट मासु र एक बाेतल रक्सीमा बिकेर राजनीतिक गुण्डागर्दीमा लागिरहेको भन्दै दुःख व्यक्त गरे ।

Please enter your comment!
Please enter your name here