कोशी प्रदेश नाममा मतदान गरेका माओवादी केन्द्रले किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

धरानमा साेमबार सम्पन्न सम्मेलनबाट कोशी प्रदेशका पूर्वमन्त्री तथा हाल संघीय सांसद रहेका रामकुमार राई (पासाङ) लाई अध्यक्ष चयन गरिएकाे छ ।

वरिष्ठ उपाध्यक्षमा तिलक प्रसाद राई, उपाध्यक्षहरूमा सुशील बान्तावा राई, अर्जुन जम्नेली र ज्ञान बहादुर राई, महासचिवमा बसन्त बान्तावा, उप-महासचिवहरूमा रेखराज राई, कुमार जेराे राई, सचिवमा बिर्सिका राई, सन्ताेष मुकमिङ, देवान तिलुङ राई र दिनेश किराती र काेषाध्यक्षमा कृपा राईलाई चयन गरिएकाे छ ।

तर, मोर्चाको अध्यक्षमा उम्मेदवारी दिएकी नेतृ मणी खम्बू किरातीले महिला भएकै कारण आफूलाई अयोग्य प्रमाणित गरिएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पाेखेकी छन् ।

राई नेतृत्वको नयाँ टिमलाई शुभकामना तथा बधाई दिइएको पाेस्टमा उनले ‘अध्यक्ष मुर्दावाद’ भनेर कमेन्ट गरेकी छन् ।

अध्यक्षमा उम्मेदवारी मनोनयन गरिएको भए पनि प्रतिनिधिहरूलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरी जबरजस्ती सहमतिको नाममा राईलाई अध्यक्ष बनाइएको उनको भनाइ छ ।

उनले सुरेश कुमार राई, पृथ्वी किराती र सुदन किरातीको योजनामा आफूलाई अयोग्य ठहर गरिएको बताएकी हुन् ।

‘पाँचौ राष्ट्रिय सम्मेलनको निर्वाचन प्रणालीबाट भागेर महिला उम्मेदवारलाई पेलेर बनाइएको साँघुरो सोचले मोर्चाको आगामी कार्यभार पूरा गर्न निकै कठिन छ । महिलाको नेतृत्वप्रति शङ्का, षडयन्त्र गरी बनेको किराती मोर्चाको अध्यक्षप्रति खेद व्यक्त गर्दछु,’ उनले लेखेकी छन् ।

हाल पहिचानवादीहरूले कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

कोशी प्रदेश नाम राखेसँगै सुरु भएको आन्दोलनमा पदम लाजेहाङ लिम्बूको मृत्यु हुनुका साथै दर्जनौं व्यक्तिहरू घाइते भएका थिए भने दर्जनौंलाई राज्यले अनेक किसिमका मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेको थियो ।

कोशी प्रदेश खारेजीको आन्दोलन अहिले कमजोर अवस्थामा पुगेको छ ।

निर्वाचित पदाधिकारीहरूकाे नामावली पछि प्राप्त भएकाेले केही थपिएकाे र सच्याइएकाे छ । सं∗