पितृ र प्रकृतिपुजक नेपालका किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेल मैदानमा जम्मा भएर नाचगान, खानपिन र शुभकामना आदान प्रदान गर्दै सामूहिक रूपमा उभौली मनाएका छन् ।
खासगरी किरात राई र सुनुवार समुदायले धुमधामका साथ उभौलीमा राईहरूले साकेला सिली र सुनुवारहरूले फोलस्यादर नाच्दै मनाउने गरेका छन् ।
उनीहरूले आ-आफ्नाे परम्परागत भेषभुषा र गरगहना लगाएर ढोल-झ्याम्टा बजाएर सिली नाच्दै दिनभरि रमाइलो गरे ।

टुँडिखेलकाे साकेलामा हिजोआज तामाङ, मगर, गुरुङ, क्षेत्री, ब्राम्हण समुदायका नयाँ पुस्ताका युवतीहरूले पनि किराती पोसाक लगाएर सहभागी हुँदै रमाइलो गर्न थालेका छन् ।
तामाङ, गुरुङ, शेर्पाहरूकाे ल्हाेसार र मगरहरूकाे माघीमा पनि उसैगरी कतिपय राई, लिम्बू, क्षेत्री, ब्राम्हण समुदायका युवायुवतीहरू ल्हाेसारका पाेसाक लगाएर जाने गरेकाे पाइन्छ ।
वास्तवमा, किरातीहरूले वर्षमा उभौली र उधौली मनाउने गरेका छन् ।
जसलाई उनीहरूले आ-आफ्नाे मातृभाषाकाे नामले पनि बुझ्रने र भन्ने गरेका छन् ।
तर उनीहरूले हिन्दुपात्रो अनुसार नै वैशाखे पूर्णिमादेखि नै उभौली सुरु गर्छन् भने मंसिरे पूर्णिमादेखि उधौली मान्छन् ।
यो चाड करिब एक महिना मनाइन्छ ।
खेतबारीमा अन्नबाली छर्न सुरु गर्नुअघि बालीनाली सप्रियोस्, परिवार तथा गाउँटोलमा सुब्बेफाब्बे होस् आदि भनेर पितृ र प्रकृतिलाई पुजा गरेर शक्ति माग्दै उभौली मनाइन्छ भने उधौलीमा नयाँ अन्न पहिले पितृलाई चढाएर खुसियालीका साथ फेरि प्रकृतिको पुजा गरिन्छ ।

काठमाडौं उपत्यकामा हरेक शनिबार फरक फरक ठाउँमा एक महिनासम्म नै यो चाड मान्न थालिएको छ ।
जसमा आयोजक संस्था पनि अलग अलग समितिहरू हुने गरेको छ ।
उपत्यका बाहिर चाहिँ खासगरी पूर्वी नेपालका विभिन्न जिल्ला र पालिकाहरूमा पनि आजकल साकेला सिली प्रदर्शनी प्रतियोगिता गर्ने जस्ता कार्यहरू गरी धुमधामका साथ मनाउन थालिएको छ ।
यसपालि काठमाडौंमा बसाेबास गरिरहेका किरातीहरूका लागि आगामी जेठ ३१ गतेसम्मको उभौली साकेला कार्यक्रमकाे तालिका पनि तय गरिएको छ ।


