हुङपुई तालको मुन्दुमी महत्वको बारेमा महत्वपूर्ण जानकारी!

(म चाहिँ हुङपुई माप्य ताल भन्न रुचाउँछु)

मुन्दुममा वर्णन हुने पवित्र पोखरीहरू मध्ये सबैभन्दा उचाइ (5415 मिटर) मा रहेको सप्तकोशीको शिर हो हुङपुई ताल!

Greater Mundum Trail को upper part को सांस्कृतिक महत्त्व बोकेको एक महत्वपूर्ण स्थान हो हुङपुई माप्य ताल!

खुवालुङमा आइपुग्ने सप्तकोशी नदी, जसमा मिसिने कुनै पनि नदीहरूको शिर यो तालभन्दा माथि छैन।

मुन्दुममा वर्णन हुने यो पवित्र पोखरी आसपास निक्कै लामो समय खालिङ पुर्खा माप्य बस्नुभएको र हुङछो (आमालाप्चा पास) पार गरेर दङ्ग बोचे (हालको नाम दिङबोच) मा बसोबास गर्न आइपुगेको भन्ने मौखिक इतिहास रहेको छ।

किरात मुन्दुम अनुसार खालिङ किरात पुर्खाले हुङछो मृगको छालाको जुत्ता जस्तै खुट्टामा मोडेर लगाउने बुट जुत्ता बनाएर पास गर्नुभएको र पास गरिसक्दासम्म विशाल हिमपात भई ओडारमा बस्नुपर्दा खुट्टामा लगाएको सोही मृगको छालालाई पोलेर खाई ज्यान बचाउनुभएको भन्ने मौखिक इतिहास छ।

सो पास गरेपश्चात उहाँहरु दिङ्गबोचे (पुरानो नाम दोङ्गबोचे, जसको अर्थ शेर्पाहरूले किरातीहरूलाई भन्ने नाम “दोङबो” र चे को अर्थ बसेको ठाउँ) गएर बसेको खेतीपाती गरेको भन्ने भनाइ शेर्पाहरूमा पनि रहेको छ र किरातीहरूमा नै रहेको छ।

मुन्दुममा वर्णन हुने सबै पोखरीहरूमध्येको पनि सबैभन्दा अग्लो स्थानमा रहेको यो हुङपुई ताल जो ५४१५ मिटर उचाइमा रहेको छ।

खुवालुङमा आइपुग्ने सबै पोखरी र तालहरू मध्येको सबैभन्दा अग्लो स्थानमा मूल भएको वा शिरमा भएको पोखरी यही हो जुन मुन्दुमको सबैभन्दा पवित्र, स्वच्छ र एकदमै थोरै मानवले मात्रै छुन र पुग्न सक्ने ताल हो।

यो विशाल ताल सम्भवत नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हुनुपर्दछ।

यो तालको आसपास चाम्लङ हिमाल (होप्लुङ), हुङ्कु चुली, मेरा हिलाम, नौंलेख, पिक 41, हुँकु हिमाल लगायत थुप्रै हिमालहरू रहेको छ। जसको मुन्दुमी नाम र किराती नामहरू समेत छुट्टै रहेको छ।

(तस्बिरसहितकाे सामग्री रमेश राईको फेसबुकबाट)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here