जनता मावि सल्ले ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खोटाङका पाँच सामुदायिक विद्यालयका एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

नतिजा अनुसार निल खाने विद्यालयहरूमा जनता मावि सल्ले, राधाकृष्ण मावि बाँझे च्यानडाँडा, जालपा मावि नुनथला, याङसोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरे रहेका छन्।

गत चैतमा सम्पन्न एसईई परीक्षामा खोटाङका ९९ वटा सामुदायिक र पाँचवटा निजी विद्यालय गरी १०४ विद्यालयका २ हजार ६५८ जना विद्यार्थी सहभागी भएका थिए।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तिर्थबहादुर विश्वकर्माका अनुसार, निल खाने विद्यालयहरूमध्ये जनता माविबाट १२, राधाकृष्ण माविबाट १७, जालपा माविबाट १७, याङसोला माविबाट ६ र शान्तोदय माविबाट ५ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबैजना अनुतिर्ण भए।

जनता मावि सल्लेका प्रधानाध्यापक भविन पूर्वछाने मगरले शिक्षकहरू सक्षम भए पनि विद्यार्थीहरूको अध्ययन प्रतिको रुचि कमजोर रहेको बताए।

‘शिक्षक मात्रै राम्रो भएर पनि हुँदैन रहेछ,’ उनले भने, ‘कुनै दिन छुटेका पाठहरू पनि पढाउँछौं भन्दा पनि स्कुल आउनै नमान्ने, पढाइमा चासो नदिने विद्यार्थीहरू छन्।’

अब असफल नतिजाको समीक्षा गरी सुधारात्मक रणनीति बनाइने प्रधानाध्यापक मगरले जानकारी दिए।

‘अबका दिनमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालासँग बैठक गरेर समिक्षा गर्दै अगाडि बढ्नेछौं,’ उनले भने।

यस वर्ष खोटाङबाट सहभागी २६५८ विद्यार्थीमध्ये १४६१ जना मात्रै उत्तीर्ण भएका छन्।

यद्यपि गत वर्षको तुलनामा समग्र नतिजा केही सकारात्मक देखिएको छ।

गत वर्ष ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष त्यो दर ५४ प्रतिशतमा पुगेको छ।

त्यस्तै, गत वर्ष ९ वटा विद्यालयले निल खाएका थिए भने यस वर्ष निल खाने विद्यालयको संख्या घटेर ५ मा झरेको छ।