खाेटाङ – बाँस लगायत स्थानीय स्रोतबाट उत्पादित सामग्रीहरू सरकारी कार्यालयमा प्रयोग गर्ने नीतिगत व्यवस्था गर्न माग गर्दै खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह गर्ने भएका छन्।

मेयर भट्टराईले आगामी साउन ११ गतेदेखि माइतीघर मण्डलामा दैनिक ८ घण्टा भोक हड्ताल गर्ने, र १३ गतेसम्म पनि संघीय सरकारले आफ्ना कुरा नसुने १४ गतेदेखि अनिश्चितकालीन भोक हड्ताल सुरु गर्ने बताएका छन्।

 

भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरी एक वर्षदेखि संघीय सरकारसँग सातबुँदे माग राख्दै आएको भए पनि बेवास्ता गरिएकोले सत्याग्रह गर्नुपर्ने बाध्यता भएको बताए।

उनले साउन ११ गते बिहान पौने ९ बजे सिंहदरबारको पश्चिम गेट नजिक पुगेर कपाल मुण्डन गर्ने, त्यसपछि मुखमा कालो पट्टी बाँधेर खालीखुट्टै बाँसको घाना बोकेर माइतीघर मण्डलामा पुगेर भोकहड्ताल गर्दै सत्याग्रह गर्नेछन्।

मेयर भट्टराईकाे फेसबुकबाट।

गत असार ९ गते सम्पन्न नगरपालिकाको १३औं नगरसभाले संघीय सरकारसँग गरिएको माग पुरा नभए सत्याग्रह गर्ने निर्णय गरेको थियो।

मेयर भट्टराई सत्याग्रहका लागि खोटाङबाटै बाँस, बाँसको चित्रा, गुन्द्री र राढी लिएर काठमाडौं जानेछन्।

सातबुँदे मागः

१. जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउँदै प्रदुषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति माग्नुपर्ने,
२. बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने,
३. प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदुषण गर्ने उद्योगसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने,
४. जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कडाइका साथ रोकी कडा कानुन बनाइ कारवाही गर्नुपर्ने,
५. पहिलो चरणमा वन र उद्योग मन्त्रालय र माताहतका सबै निकायले बाँस, काठ, राढी, वातावरण र पर्यावरणमैत्री फर्निचर खरिद तथा सो बमोजिमका भवन संरचना बनाउने नीतिगत निर्णय गर्नुपर्ने, साथै खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने,
६. विशेषतः काठमाडौंबाट खोटाङ जाँदा बाटोमा अलपत्र परेका पुल सडक र संरचना बनाउन अलपत्र पार्नेलाई कडा कानुनी कारवाही तत्काल निर्माणको काम सुरु गर्नुपर्ने,
७. पहाडी भूभागमा बाँदर र बन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गर्नुपर्ने ।