काठमाडौं– खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गाउँघरमै पाइने बाँस, काठ, रक्सी, राढीपाखीजस्ता परम्परागत सामग्रीहरूलाई सरकारी मान्यता दिँदै प्रयोगमा ल्याउनुपर्ने माग गर्दै आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा भोकहड्ताल थालेका छन्।
उनी आइतबार बिहान सिंहदरबारको दक्षिण गेटमा पुगेर कपाल मुण्डन गरी, मुखमा कालो कपडा बाँधेर खालीखुट्टा बाँसको घाना बोकेर माइतीघरमा भोकहड्ताल सुरु गर्ने योजना बनाए पनि प्रहरीले बीचमै रोकेकाले उनी गाडीबाटै माइतीघर पुगेका थिए।
सातबुँदे मागसहित भोकहड्तालमा बसेका उनले तीन दिनभित्र माग पूरा नभए यही साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्।
विविध जातजातिको पहिचान र संस्कृतिप्रति सचेत देखिएका प्रमुख भट्टराईले गाउँघरमा तयार हुने ‘कोदोको रक्सी’लाई ब्रान्डिङ गरी प्रयोगमा ल्याउनुपर्ने, तथा सरकारले प्रतिबन्ध लगाएको गाँजा खेतीलाई पनि खुला गर्नुपर्ने माग समेत राखेका छन्।
उनका मागहरू जो–कोहीले पनि सहजै समर्थन गर्न सक्ने खालका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित उनले जलवायु परिवर्तनको असर कम गर्न ठोस नीति बनाएर, प्रदूषणका प्रमुख कारक विकसित देशहरूबाट क्षतिपूर्ति लिनुपर्ने र बाँस लगायत स्थानीय कच्चा पदार्थबाट निर्मित सामग्रीहरूलाई सरकारी कार्यालयहरूले अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था गर्न माग गरेका छन्।
त्यसैगरी, प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने तथा प्रदूषण बढाउने उद्योगहरूबाट स्थानीय तहले थप १० प्रतिशत कर लिनपाउने व्यवस्था गर्नुपर्ने, बाँदर तथा वन्यजन्तुको आतंकले कृषकहरूलाई पारेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र ती समस्याका कारण पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्नुपर्ने उनले बताए।
उनका मागहरू जो–कोहीले पनि सहजै समर्थन गर्न सक्ने खालका छन्। खोटाङका विभिन्न क्षेत्रका अगुवा र सरोकारवाला संस्थाका प्रतिनिधिहरूले भेटी भट्टराईलाई ऐक्यवद्धता जनाएका छन्।
नगरपालिकाले गत वर्षदेखि नै यी मागहरू सम्बोधन गर्न पटक–पटक सरकारलाई जानकारी दिँदै आएको भए पनि बेवास्ता गरिएकाले बाध्य भएर भोकहड्ताल गर्नुपरेको उनले बताए।
उनका अनुसार राज्यसँग आर्थिक सहयोग होइन, नीतिगत व्यवस्था गर्न मात्र माग गरिएको हो।
उनले प्रमुखमा निर्वाचित भएदेखि नै कार्यालयमा बाँस तथा स्थानीय स्रोतबाट निर्मित फर्निचर र सामग्री प्रयोग गर्दै आएको र नगरभित्र प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाइएको जानकारी गराए।
स्थानीय स्रोत साधनको प्रयोगमार्फत जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै रोजगारी सिर्जना गर्नुपर्ने उनको जोड छ।
यस्तो नीति बनेमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने र देशमै समृद्धि तथा समाजवाद स्थापना हुने उनको विश्वास छ।
पुँजीवाद र विश्वव्यापीकरणले देश, समाज र जनतामा चरम उपभोक्तावादी संस्कृति फैलाएको वर्तमान अवस्थामा नगर प्रमुख भट्टराईले देशकै उत्पादन, विविध संस्कार–संस्कृति र जैविक विविधताको संरक्षणमार्फत वातावरण जोगाउने तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने एजेण्डा अघि सारेका छन्।


