होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि डा. पाण्डेकाे १६ सुझाव

दोस्रो पटक फैलिएको कोरोना भाइरसको महामारीले नेपालसहित विश्वभरि फेरि संकट पैदा गरेको छ ।

खुला सिमाना भएको हाम्रो छिमेकी देश भारतमा दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण भइरहेको छ । भारतको सिधा प्रभाव नेपालमा परिरहेको छ ।

नेपालमा अहिले कोरोना संक्रमितका लागि अस्पतालका बेडहरु समेत खाली छैन । सामान्य स्वास्थ्यअवस्था भएका संक्रमितहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।

होम आइसोलेसनमा बसेकाहरुका लागि डा. रविन्द्र पाण्डेले सामाजिक सञ्जालमा लेख्दै १६ बुँदाकाे उपाय दिएका छन् ।

यस्तो छ उनको उपायः

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८/९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा/टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आवश्यकताअनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स रे वा सीटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिसअनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार होइन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाईंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिँदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ/कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवं सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक सञ्जाल सकभर नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्