बालेनको भोट तान्ने रणनीतिः मुक्कुमलुङपछि खुवालुङ पुगे

संघीयता र पहिचानको विरोधी मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार बनेका बालेन शाहले निर्वाचनको मिति नजिकिँदै गर्दा भोट माग्ने काइदाका रूपमा ताप्लेजुङको मुक्कुमलुङपछि सप्तकोशीको खुवालुङ क्षेत्रमा पुगेर किरात सभ्यताको प्रशंसा गरेका छन्।

उनले आज फेसबुकमा खुवालुङलाई पृष्ठभूमिमा पारेर खिचिएको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा सभ्यताको द्वार मानिन्छ।’

उनले मुन्धुम जीवनचक्रका संस्कारहरूमा खुवालुङ अनिवार्य रूपमा स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक भएको उल्लेख गरेका छन्।

यसअघि उनी लिम्बु समुदायको मुन्धुममा वर्णन हुने ताप्लेजुङको मुक्कुमलुङ पुगेर त्यस क्षेत्रलाई ‘मुक्कुमलुङ’ नै भनेर प्रचार गरेका थिए।

तर नेपाल सरकार र पहिचानविरोधी एकल जातीय मनोविज्ञानका मानिसहरूले उक्त क्षेत्रलाई हिन्दुकृत नाम ‘पाथीभरा’ भनेर बोलाउने गरेका छन्। पहिचानवादीहरूले ‘मुक्कुमलुङ’ भन्ने र विरोधीहरूले ‘पाथीभरा’ भन्ने चलन रहेको छ।

हाल सो क्षेत्रमा सरकारले नै एक निजी व्यापारीलाई केबलकार बनाएर व्यापार गर्न दिने र पाथीभरा देवीको नाममा व्यापारिक विस्तार गर्ने नीति लिएको छ। जसलाई स्थानीय याक्थुङ लिम्बु तथा आदिवासी जनजातिहरूले विरोध गर्दै आएका छन्।

यता खुवालुङलाई पनि यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटाउने तयारी गरेका थिए। सप्तकोशीको बीचमा रहेको खुवालुङले जेटबोट चलाउन अवरोध गर्ने भएकाले त्यसलाई फुटाउने तयारी गरिएको थियो। तर आदिवासी किरातीहरूको संस्था र तिनका अगुवाहरूले विरोध गरेपछि ओली उक्त निर्णयबाट पछि हटेका थिए।

रास्वपा यस्तो पार्टी हो, जसले यसअघिको निर्वाचन (२०७९) मा प्रदेश संरचनाको विरोध गर्दै प्रदेशसभाको निर्वाचनमा नै भाग लिएन। रास्वपाले पहिचान, भाषिक–सांस्कृतिक समानता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्वपूर्ण मुद्दाको पक्षमा कहिल्यै स्पष्ट अभिव्यक्ति दिएको छैन।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपाबाट निर्वाचनमा होमिएका बालेनले भने हाल भोट तान्ने जुक्तिका रूपमा मुक्कुमलुङ र खुवालुङ भन्न थालेको अनुमान गर्न सकिन्छ।

उनले यसअघि जनकपुरमा पनि प्रदेश संरचनालाई अझ बलियो र अधिकारसम्पन्न बनाउने बताएका थिए।

पहिचान, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, गणतन्त्र, संघीयता जस्ता मुद्दामा रास्वपाले कस्तो चुनावी घोषणापत्र ल्याउँछ, हेर्न बाँकी छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img