काठमाडाैं। टोखा नगरपालिका–७, धापासी, काठमाडौंस्थित तिलिङ्गाटार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई तीन महिने ‘बेसिक बक्सिङ ट्रेनिङ प्याकेज’मा सहभागी गराइएको छ।
टोखा बक्सिङ क्लबले निःशुल्क प्रदान गरेको उक्त ट्रेनिङको शनिबार (१४ मार्च २०२६) विद्यालय परिसरमा समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गरिएको हो।
टोखा बक्सिङ क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक अनुपकुमार राईको पहलमा गत पुस १ गतेदेखि प्रत्येक दिन बिहान करिब ४० जनालाई बक्सिङ सिकाइएको थियो।
जसमा कोचका रूपमा टोखा नगरपालिका वडा नं. ८ का सदस्य (जनप्रतिनिधि) समेत रहेका क्लबका संस्थापक अध्यक्ष राईका साथै शेरबहादुर राना मगर र शम्शेर घले रहेका थिए।

नगर खेलकुद महोत्सवमा बक्सिङ समावेश गरिने
समापन कार्यक्रममा टोखा नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाले नगरपालिकाभित्र रहेका आठ वटा सामुदायिक विद्यालयमध्ये पाँचवटामा बक्सिङ खेलाडी उत्पादन भए आगामी आर्थिक वर्ष नगरपालिकाले आयोजना गर्ने नगर खेलकुद महोत्सवमा बक्सिङलाई पनि समावेश गरिने बताए।
उनले भने, ‘हामीकहाँ आठ वटा सामुदायिक विद्यालय छन्, त्यसमा पाँच वटामा खेलाडी उत्पादन भयो भने अर्को वर्षको नगर खेलकुद महोत्सवमा बक्सिङलाई पनि समावेश गर्नेछाैं।’

उनले टोखा नगरपालिकाले तेक्वान्दो, कराते र सेपाताक्रोसहित पाँच वटा विधामा खेलकुद महोत्सव गरिसकेको जानकारी दिए।
सो अवसरमा उनले टोखा नगर खेलकुद समितिले बक्सिङ खेलको विकासका लागि केही रकम विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

बक्सिङ: सुरक्षित र निर्णय क्षमता बढाउने खेल
नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले टाउकोमा प्रहार हुने बक्सिङ खेल इक्युपमेन्ट तथा सेफ्टीका कारण सुरक्षित खेलको रूपमा प्रमाणित भएको एक अनुसन्धानले देखाएको बताए।
उनले भने, ‘अभिभावक र नानीबाबुहरूलाई म स्पष्ट पार्न चाहन्छु, बेलायतको एउटा बक्सिङ स्कुलले गरेको अनुसन्धानले के देखाएको छ भने बक्सिङको जुन ग्लोभ र इक्युपमेन्ट छन्, त्यसका कारण बक्सिङको पन्चले दिमागमा कुनै असर पर्दैन भन्ने देखाएको छ।’
उनले मान्छे अप्ठेरो अवस्थामा पर्दा छिटो र सही निर्णय लिन सक्ने क्षमता पनि बक्सिङ खेलले विकास गर्ने बताए।
विद्यार्थीको प्रगति र प्रशिक्षकको मिहिनेत

विद्यालयका प्रधानाध्यापक केदारराज रेग्मीले थोरै समयमा पनि विद्यार्थीहरूले राम्रो प्रगति गरेको बताए।
उनले भने, ‘थोरै समयमा हाम्रा विद्यार्थीहरूले राम्रो प्रगति गरेको देखेँ। यसका लागि प्रशिक्षक र सहभागी भाइबहिनीहरूलाई धन्यवाद छ।’
व्यक्तिगत लगानीमा निःशुल्क तालिम
टोखा बक्सिङ क्लबका संस्थापक अध्यक्ष राईले बक्सिङ खेलका लागि केही गर्नुपर्छ भन्ने भावनाले आफूले नै खर्च गरेर विद्यालयहरूमा बक्सिङको बेसिक ट्रेनिङ दिइरहेको बताए।
‘म आफू पनि बक्सिङ खेलाडी हुँ। मैले कसैबाट खर्च लिएको छैन, यो सबै खर्च मैले व्यक्तिगत रूपमा गरेको छु,’ उनले भने, ‘किनभने बक्सिङको क्षेत्रमा केही गर्नुपर्छ भनेर मैले यो काम गरिरहेको छु।’

उनका अनुसार नगरपालिकाको खेलकुद विकास समिति र वडाबाट केही सामान सहयोग भएको छ।
उनले यसअघि जाल्पा माविमा पनि ट्रेनिङ दिइएको भन्दै अब अन्य सामुदायिक विद्यालयहरूमा पनि ट्रेनिङ दिइने र त्यसपछि संस्थागत विद्यालयमा पनि विस्तार गर्ने योजना सुनाए।
खेलको जग र भविष्यको योजना
टोखा बक्सिङ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. टेकबहादुर थापाले भाइबहिनीहरूको जीवनमा बक्सिङ खेलको जग बसालिएको भन्दै अब घर पनि बनाउनुपर्ने बताए।
उनले भने, ‘जग मात्रै बसाएर हुँदैन, घर पनि बनाउनुपर्छ। घर बन्यो भने मात्रै त्यसले पूर्णता पाउँछ।’
उनले बक्सिङको विकासका लागि मिहिनेतका साथ अघि बढिरहेका संस्थापक अध्यक्ष राईलाई धन्यवाद पनि दिए।

कार्यक्रममा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी, साफ गेम्सका गोल्ड मेडलिस्ट प्रकाश थापा मगर, पूर्व बक्सिङ खेलाडी फडिन्द्र राई लगायत संस्थासँग आबद्ध खेलाडीहरू, जनप्रतिनिधिहरू र अभिभावकहरूको उपस्थिति थियो।
त्यसक्रममा प्रशिक्षित खेलाडीहरूले स्याडो बक्सिङ, प्याडिङ र स्पारिङ जस्ता बक्सिङ शो प्रस्तुत गरेका थिए भने उनीहरूलाई अतिथिहरूमार्फत प्रमाणपत्र प्रदान गरिएको थियो।