खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ‘प्रथम किरात राजा यलम्बर’को सालिक वडा कार्यालयले एक्लौटी ढङ्गबाट उद्घाटन गरेमा सो कार्यक्रममा किरात राई यायोक्खाको सहभागिता नहुने, साथै यायोक्खाको झन्डा र लोगो प्रयोग नगर्न सचेत गराइएको छ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई र महासचिव भीमराज राईले बुधबार (२९ अप्रिल २०२६) प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
यायोक्खाले नगरपालिका र वडा कार्यालय दुवैलाई आ–आफ्ना उद्घाटन कार्यक्रम स्थगित गरी दुवै कार्यक्रमका लागि तय गरिएका प्रमुख अतिथिहरूबाट संयुक्त रूपमा उद्घाटन गर्ने गरी सहमति गर्न आग्रह गरेको छ।
सबैभन्दा पहिले,
वडाअध्यक्ष दिनेश राईले गत वैशाख ९ गते (२२ अप्रिल २०२६) पत्रकार सम्मेलन गरी वैशाख १८ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट सालिक उद्घाटन गरिने बताएका थिए।
जसमा खोटाङका संघीय सांसद तथा श्रसपा महासचिव आरेन राई, गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, अभिनेत्री एलिसा राई र यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईलाई अतिथि बनाइने बताइएको थियो।
तर, नगरपालिकाले वडाअध्यक्ष राईले समन्वय नगरी आफूखुसी उद्घाटन कार्यक्रम गर्न लागेको भन्दै नगर कार्यपालिकाको बैठकको निर्णयबमोजिम नगरपालिकाको आयोजनामै उद्घाटन कार्यक्रम गरिने जनाएको थियो। नगरपालिकाले वैशाख १७ गते उद्घाटन गर्ने मिति तोकेको थियो।
सहमति नभएको अवस्थामा विवाद थप चर्किने देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षाको कारण देखाउँदै दुवै पक्षलाई कार्यक्रम स्थगित गर्न सूचित गरेको छ। जसअनुसार नगरपालिकाको उद्घाटन कार्यक्रम स्थगित भएको छ।
तर, नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष राईले बुधबारसम्म पनि सामाजिक सञ्जालमार्फत वैशाख १८ गते नै उद्घाटन गरिने बताएका छन्।
श्रसपाका कार्यकर्ताहरूले पनि वैशाख १८ गते नै उद्घाटन गर्ने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् भने श्रसपा अध्यक्ष हर्क साम्पाङ पनि खोटाङ आइपुगेका छन्।
वडाअध्यक्ष राईले किन नगरपालिकालाई नै बाइपास गरी श्रसपा अध्यक्ष हर्क साम्पाङलाई प्रमुख अतिथि बनाएर सालिक उद्घाटन गर्नेमा जोड गरिरहेका छन्? यो प्रश्नको जवाफमा खोटाङका एक नेताले पछिल्लो समय एमालेमा निष्क्रिय रहेका वडाअध्यक्ष राई श्रम संस्कृति पार्टीमा प्रवेश गरी अबको स्थानीय निर्वाचनमा ‘माटो’ चिन्ह लिएर मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको दाबी गरे।
११० फिट अग्लो उक्त यलम्बरको सालिक कोशी प्रदेश सरकार र नगरपालिकाको क्रमशः ७० र ३० प्रतिशत बजेटमा निर्माण भएको हो। कुल बजेट ११ करोड ५८ लाख १६ हजार रुपैयाँ रहेको छ।

