एउटा समुदायकाे सांस्कृतिक अर्थ बोक्ने प्रतिमा बनाउँदा यति धेरै आलाेचना किन ?

साँघुराे बुझाइ, साँघुराे सोंच र साँघुराे राष्ट्रवादी चिन्तनको प्रतिफल अर्काको अस्तित्वमाथि सधैं धावा बोलिरहन्छ । अझ सक्दासम्म त्यसकाे अस्तित्वलाई विध्वंस गर्न लागि पर्दछ । अहिले यही प्रवृत्ति उदयपुरमा निर्मित सुँगुरको प्रतिमामा देखा परेको छ ।

त्यो प्रतिमाकाे त्यस क्षेत्रका रैथाने जनतासँग सांस्कृतिक पहिचान जोडिएको छ । साथै त्यसकाे माध्यमबाट आन्तरिक पर्यटनलाई जोड्ने मनसायले स्थापित गरिएको भन्दा पनि जबर्जस्त अनुत्पादक लगानी भो भनेर घुमाउरो पाराले सांस्कृतिक अतिक्रमणलाई मलजल गर्न खोजिरहेका छ्न् एकथरि अतिवादीहरु ।

ल भन्नुस्, नेपालको अहिलेको राज्य व्यवस्थाले वार्षिक कति बजेट उत्पादनमूलक क्षेत्रमा लगाउने गरेको छ ? हाम्रो अवस्था त अझै पनि ८५ प्रतिशत भन्दा माथि अन्य मुलुकसँग निर्भर हुनु परेको स्थिति छ । यसो हुँदा अहिलेसम्मको लगानी अनुत्पादक क्षेत्रमै छ भन्ने त यसै पनि देखाउँछ ।

यहाँ मदन भण्डारी/वीपी कोइरालाहरुको नाममा राज्यकाे करोडौं लगानी हुँदै गर्दा हामीले कहिल्यै त्यसको उत्पादन के हो भनेर सोध्यौं ? त्यसले के प्रतिफल दिन्छ भनेर भन्यौ ? तर यी कसैको आस्थाका मानकहरु हुन् भनेर प्रश्न नगरिएका हुन् नि । अन्यथा यी अहिलेसम्म भएका लगानी अनुत्पादक होइन र ? अनि आज एकखाले समुदायमा सांस्कृतिक अर्थ बोक्ने एक थान प्रतिमा स्थापित गरिएको विषयमा यति धेरै आलोचित हुनुपर्ने ?

यो मुलुकमा तथ्यांक राखेर बहस गर्ने हो भने अर्बाै भन्दा माथि लगानी गरिएको शिवजीलाई बाहिरपट्टि रुङ्दै गरेको साँढेमा छ । त्यो साँढेले के उत्पादन दिएको छ ? हामी पनि जान्न चाहन्छौं । तर यहाँ अर्बाैमाथिको लगानीमा प्रश्न कहिल्यै नबन्ने, ६० लाखको सुँगुरको प्रतिमाले मुलुकको कायापलट हुन्छझैं गरी बहस माग गर्नेहरुले आफूबाट आत्मसमिक्षा गर्नुस् । अन्यथा यहाँ साँढेमा लगानी हुँदै गर्दा सुँगुरमा किन ? भन्ने अनुचित प्रश्न गर्न छाडौं । हिजोसम्म जसरी एकै नश्लको मानकहरु स्थापित गर्न खोजियो आज त त्यो सम्भव हुन्न । त्यस्ता मानकहरुको सह-अस्तित्वले प्रतिरोध माग गर्दछ । अझ हामीसँग सह-अस्तित्वका मानक र प्रश्नहरु बग्रेल्ती छ्न् ।

हामी सह-अस्तित्व स्विकार गर्दछौं भने साँढे पनि स्विकार छ, सुँगुर पनि स्विकार हुनुपर्दछ भनी रहन नपरोस् । यहाँ मदन भण्डारी/वीपी कोइरालाहरुमा लगानी भैरहँदा रामप्रसाद राई/रत्नकुमार बान्तावाहरुमा पनि लगानी होस् भनिरहन नपरोस् । तब न मुलुकमा समानताको बहस स्थगित हुन्छ । अन्यथा हामी हाम्रो मौलिक अस्तित्व स्थापित गर्न यस्ता सुँगुरका हजारौ प्रतिमा स्थापित गर्ने बाटोमा हजारौं पश्नहरुको सामना गर्दै अघि बढ्नेछौं । सक्छौं भने आउ मैदानमै मुकाबिला गर्न ।

(याे सामग्री सांस्कृतिक अभियान्ता दिनेश काम्दुङ खम्बुकाे फेसबुकबाट लिएर उपयुक्त हेडलाइन राखेर प्रकाशित गरिएकाे हाे ।)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्