संखुवासभा हत्याकाण्डका मुख्य योजनाकार लोकबहादुरका काका

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चार जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

अनुसन्धानबाट घटनाको मुख्य योजनाकार खड्गबहादुर कार्की भएकाे र घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको हत्या भएको थियो । एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए ।

पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्