नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला कमिटीका सदस्य रामकृष्ण श्रेष्ठसहित ४३ जना माओवादी कार्यकर्ताहरु पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं ८ दोलालघाट कोशीपारीमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठको नेतृत्वमा माओवादी नेता–कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका जसपाका कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ र केन्द्रीय सदस्य नवीनकुमार सुनुवारले खादा र अविरको टीका लगाएर स्वागत गरेका हुन् ।
दोलालघाट कोशीपारीका बासिन्दा रहेका रामकृष्ण श्रेष्ठ प्रभावशाली युवा नेता हुन् ।
१९ वर्षसम्म माओवादी केन्द्रमा क्रियाशील रहेका श्रेष्ठले माओवादीले आफनाे पहिलेका मुद्दा छोड्दै गएको र कम्युनिष्ट भन्नेहरु पनि ‘कमाउनिष्ट’ बन्दै गएकोले पार्टी परित्याग गरेको बताए ।
उनका साथमा माओवादीका अगुवा कार्यकर्ता शाेभा राई (माझी), भीमबहादुर माझी र लाेकदर्शन राय (मल्ल) पनि जसपामा प्रवेश गरेका छन् ।
जसमध्ये शाेभा राई (माझी)ले स्थानीय निर्वाचनमा माओवादीबाट चुनाव लड्दा ३७० मत ल्याएकी थिइन् ।
कार्यक्रममा जसपामा प्रवेश गर्नेहरुको नामावली जसपाकी नेतृ अनिता थिङले वाचन गरेकी थिइन् ।
१९ वर्षसम्म माओवादी केन्द्रमा क्रियाशील रहेका श्रेष्ठले माओवादीले आफनाे पहिलेका मुद्दा छोड्दै गएको र कम्युनिष्ट भन्नेहरु पनि ‘कमाउनिष्ट’ बन्दै गएकोले पार्टी परित्याग गरेको बताए ।
उनले नेपालका सबै जाति, समुदाय र वर्गको मुक्तिको लागि जसपाले बोकेको मुद्दा ठीक लागेकोले आफू जसपामा प्रवेश गरेको बताए ।
जसपा प्रवेश गरेका भीमबहादुर माझीले माझी भाषा, संस्कृतिहरु लोप हुँदै गएको र जातीय पहिचान र संस्कृति संरक्षणका लागि जसपाले ठीक तरिकाले मुद्दा उठाएको बताए ।
उनले अब राजनीतिक सामाजिक लगायत विभिन्न क्षेत्रमा माझी समुदायका व्यक्तिले पनि नेतृत्व गर्नुपर्ने बताए ।
उनले कोही माझी नेतृत्व लिन्छु भनेर अघि बढ्छ भने आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नाे पार्टीले धनीको समाजवाद नभएर जनताको समाजवाद चाहेको बताए ।
उनले भने, ‘समाजका सबैभन्दा पिछडिएको क्षेत्र, सबैभन्दा पिछडिएको जाति, सबैभन्दा पिछडिएका गरिब निमुखा, भोकरोगले सन्त्रस्त जनतालाई सुख दिन सक्छौं भने त्यो समाजवाद हो ।’
उनले नेपालमा उत्पीडित जातिका लागि संघीयता र वर्गीय मुक्तिको लागि समाजवाद भन्ने आफ्नाे पार्टीको मुख्य नारा रहेको बताए ।
जसपाका केन्द्रीय सदस्य सुनुवारले जसपाको नीति र सिद्धान्त क्रान्तिकारी भएको र अब सबैले मिलेर टोलटोलसम्म पुर्याउनुपर्ने बताए ।
पार्टीको लुम्बिनी प्रदेशको सहइन्चार्ज समेत रहेका उनले पार्टीभित्र ‘म’ भन्ने भावना त्यागेर ‘हामी’ भन्ने भावना लिएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य जेसिका लामा, केन्द्रीय निर्वाचन समिति सदस्य इन्द्र तामाङ, जसपा नेता शिद्धीबहादुर जोशी, रहरसिंह तामाङ लगायतले सम्बोधन गरेका थिए ।
रमेश जिसी (धिरज) को अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रमको पहल जसपा केन्द्रीय सदस्य सुनुवारले गरेका थिए ।
सो क्रममा मन्त्री श्रेष्ठले दोलालघाट कोशीपारीमा जसपा भुम्लु गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन समेत गरेका थिए ।












