विजय चाम्लिङ
विभाजनको डिलमा पुगेर बचेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले शुभचिन्तक र कार्यकर्ताहरुलाई नयाँ शिराको एकताको सन्देश दिएका छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताहरुले एकताबद्ध भएर पार्टी अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आज समापन भएको दुई दिने केन्द्रीय समितिको बैठकलाई शीर्ष नेताहरुले एकताको सन्देश र नयाँ उर्जा प्रदान गर्दै अन्त्य गरेका हुन् ।
सो क्रममा नेताहरुले हातोमाले गरेर हाँस्य रसका साथ तस्बिर खिचाएका थिए । यसअघि मनमुटाबमा रहेका भनिएका डा. भट्टराई र यादव हसिलो मुद्रामा प्रस्तुत भए ।
‘अब पार्टी एकजुट भयो, हामी एकताबद्ध भएर पार्टी अगाडि बढाउँछौं भनेर नेताहरुले प्रतिबद्धता जनाउनुभो,’ केन्द्रीय सदस्य पूर्ण बस्नेतले भने, ‘हामीले ताली बजाएर खुसी व्यक्त गर्यौं ।’
सो क्रममा नेताहरुले हातोमाले गरेर हाँस्य रसका साथ तस्बिर खिचाएका थिए । यसअघि मनमुटाबमा रहेका भनिएका डा. भट्टराई र यादव हसिलो मुद्रामा प्रस्तुत भए ।
तीन नेता सम्मिलित मुख्यालय
केन्द्रीय समितिको बैठकबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रहेको मुख्यालय गठन गरिएको छ ।
पार्टीले गर्ने कुनै पनि महत्वपूर्ण निर्णय यसैले गर्नेछ । पार्टीको कार्यकारिणी समितिको बैठक बस्न नसक्दा यसैले काम गर्नेछ ।

मुख्यालय पार्टीलाई सामूहिक निर्णणको अभ्यासबाट अघि बढाउने थलो बन्नेछ । बैठकले पार्टीको महाधिवेशन पनि आगामी असोज पहिलो साता गर्ने समझदारी पनि गरेको छ ।
‘सम्भव भए भदौ अन्तिमसम्ममा नभए असोज पहिलो साताभित्रमा महाधिवेशन गर्ने मोटामोटी सहमति भएको छ,’ नेता बस्नेतले भने ।
जसपाले सोअघि असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो । सोको आवश्यक तयारी गर्ने जिम्मा भने केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको छ ।
केन्द्रीय सदस्य पालिका-पालिकामा खटिने
जसपाले आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई केन्द्रित गरी केन्द्रीय सदस्यहरुलाई पालिका-पालिकामा खटाउने भएको छ । यसका लागि केन्द्रीय सदस्यहरुलाई आफू खट्न चाहने पालिका छान्ने सुविधा दिएको हो ।
जसपाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटबारे निर्देशिका पनि बनाएको छ ।
जसमा वडा तहको उम्मेदवार पालिकाले नै टुंगो लगाउने, पालिका तहको उम्मेदवार जिल्ला समितिले टुंगो लगाउने, उपमहानगरको उम्मेदवार प्रदेश समिति र महानगरपालिकाको उम्मेदवार केन्द्रले टुंगो लगाउने उल्लेख छ ।
केन्द्रीय समितिको बैठकमा कार्यकारिणी समिति सदस्य थप्ने प्रस्ताव आए पनि अस्वीकृत भएको छ । जसपाको विधानमा कार्यकारिणी समिति सदस्य ५३ जना रहने व्यवस्था छ ।
राजेन्द्र महतो र महन्थ ठाकुर समूह जसपाबाट अलग भएपछि कार्यकारिणी सदस्य संख्या ३५ मात्रै छ । निर्वाचनअघि कार्यकारिणी सदस्य नथप्ने निर्णय भएको हो ।



