जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि सुनियोजित रुपमा आक्रमण गरिएको भन्दै घटनाको छानबिन गरी अपराधीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उक्त घटनाको भिडियो फुटेज हेर्दा आक्रमण सुनियोजित रुपमा गरिएकाे देखिएको बताए ।
नेता भट्टराईले घाइते साहको स्वास्थ्य अवस्था बुझ्दै घटनाकाे भिडियो फुटेज हेरेपछि सुनियोजित रुपमा आक्रमण गरिएको बताएका हुन् ।
सांसद साहमाथि दुई दिनअघि सर्लाहीको ईश्वरपुरमा सांघातिक आक्रमण भएको थियो । जसबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
हाल उनलाई काठमाडौं ल्याएर उपचार गरिदै छ । उक्त घटनामा नेकपा एमालेका कार्यकर्ता संलग्न रहेको जसपाकाे दाबी छ ।
