देश आर्थिक संकटमा परेर श्रीलंकाको हालतमा पुग्ला कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले देशको अर्थतन्त्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलादेखि नै बिग्रन थालेको बताएका छन् ।

एमालेको प्रचार विभागले हिजो गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सार्थक हस्तक्षेप नगरे देश श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएपछि सो समाचारलाई सेयर गर्दै जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत रहेका नेता खतिवडाले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकोको बेलादेखि नै देशको अर्थतन्त्र बिग्रन थालेका बताएका हुन् ।

खतिवडाले हिजो ट्वीटरमा लेखे, ‘एमालेले यो पत्रकार सम्मेलनमा अरु सबै सत्य बोल्यो । दुईवटा कुरा झुठ बोल्यो । एक- अर्थतन्त्र यथार्थमा ओलीकै पालादेखि बिग्रिन थाल्या हो, गठबन्धनले पनि सुधारेन । दुई- तरलता अभाव हुनुमा चुनावका लागि पार्टीहरुले लुकाएको पैसा पनि जिम्मेवार छ । यसरी पैसा लुकाउनेमा एमाले १ नम्बरमा छ ।’

खतिवडाको यो भनाइ लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि ‘जडी कुरो’ भन्दै सेयर गरेका छन् ।

याे समाचारमा इन्फाेग्राफिक सहितकाे कभर तस्बिर शिलापत्र डटकमबाट हाे । शिलापत्रले गत असार २९ गते ओलीको साढे तीन वर्षे कार्यकाल : बढ्यो ८ खर्ब ५७ अर्ब ऋणको भारी शीर्षकमा समाचार लेखेकाे थियाे ।

https://shilapatra.com/detail/62454?fbclid=IwAR2HF7JcWP7E0Or2wiqePoI5yGVmmvS54lWFeFXIZ7uM8cyKSVX5oxlIpxE