व्यक्ति-व्यक्ति मिलेर परिवार बन्छ । परिवार-परिवार मिलेर समाज बन्छ । समाज-समाज मिलेर संसार चलिरहेको छ । यो संसारमा फरक-फरक धर्मावलम्बी, मातृभाषी, दर्शन, बिचार र कर्म गरेका व्यक्ति र समाज हुन्छ । त्यसैले केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालमा १२५ जाति र १२३ मातृभाषीहरु छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका अनुसार नेपालमा ५९ आदिवासीहरु छन् ।
जब आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८ स्थापन भयो, त्यो मितिदेखि जातीयताको नाममा राहत, आरक्षण कोटा, अनुदान र भत्ता दिने व्यवस्था राज्य सत्ताले केही समयको लागि सुबिधा उपलब्ध गरिदिएपछि किरात राई जातिभित्र एक आपसमा चैटिने, टुक्रिने र समाजलाई उथलपुथल बनाउने काम भएको प्रमाण पाइन्छ । करिब ३३ किसिमको राईहरुबाट केही सानो सानो झुन्ड बनेर सूचीकरणको उदेश्य बोकेर समाजलाई भाड्दै प्रचारप्रसार गर्दै र संघसंगठन बनाउँदै हिडेको देखिन्छ ।
बाकुलोचाना
राई जातिबाट चैटिएर जानको लागि ‘बाकुलोचाना’ निर्माण गरिएको थियो । जहाँ बा= बाहिङ, कु= कुलुङ, लो= लोहरुङ, चा= चाम्लिङ र ना= नाछिरिङ आदि राई जातिबाट चैटिने टोली थिए । सूचीकण टोलीले पछि बिस्तारै अरु केही राईहरुलाई पनि स-सानो झुन्ड बनाई निश्चित लोभ, लालचा र स्वार्थ देखाई राई जातिबाट फुटाउनेतिर उन्मूख गराएको पाइन्छ ।
वास्तवमा जातिको नाममा अनुदान, राहत र भत्ता दिएको हुनाले भटाभट नयाँ नयाँ जातीय संघसंगठन स्थापना गरियो ।
सूचीकरण
प्रतिष्ठान अनुसार ५९ आदिवासीदेखि अरु नयाँ जाति कोही पनि सूचीकरण भएका छैनन् । ५९ जातिमा राई पनि ठूलो जनसंख्या र जनशक्ति भएको जाति हो । नेपालमा प्रत्येक आदिवासी जातिहरुको विविधता रहेको पाइन्छ । अझै भाषाशास्त्रका हिसाबले, भूगोलका हिसाबले, समाजशास्त्रका हिसाबले र मानवशास्त्रका हिसाबले अध्यन गर्ने हो भने अझ घट्ने सम्भावना देखिन्छ । भत्ताको र आरक्षणको निश्चित स्वार्थले २०५८ सालदेखि केही असली राई जातिहरुले हामी राई हैन हामी त छुट्टै हाै भन्न थालेको पाइन्छ ।
नयाँ जाति र कोड नं
हरेक निकायको आ-आफ्नो काम तथा कर्तव्य हुन्छ । यसै क्रममा केन्द्रीय तथ्यांक बिभागको उत्तरदायित्व भनेको नेपालभरिको सबै बिषयबस्तुहरुको सत्यतथ्य सूचना संकलन गर्ने र बितरण गर्ने काम हो । साथै अरु विभिन्न बिभागसँग सहकार्य गर्ने हो । तर केन्द्रीय तथ्यांक विभागले आफ्नो ऐन तथा कानुन भन्दा बाहिर गएर उपद्रो गरेको छ । त्यो उपद्रो हो राई जातिलाई फुटाउने सहयोग । २०६८ काे जनगणनाबाट भटाभट नयाँ जाति कोड दिएको छ । जुन यस प्रकार छ ।
१) कुलुङ जाति – कोड ( ६२ )
२) नाछिरिङ जाति – कोड ( ८५ )
३) याम्फू जाति – कोड ( ८६ )
४) चाम्लिङ जाति – कोड ( ८८ )
५) आठपहरिया जाति – कोड ( ८९ )
६) बान्तावा जाति – कोड ( ९४ )
७) थुलुङ जाति – कोड ( १०० )
८) मेवाहाङ जाति – कोड ( १०३ )
९) बाहिङ जाति – कोड ( १०४ )
१०) साम्पाङ जाति – कोड ( ११४ )
११) खालिङ जाति – कोड ( ११७ )
१२) लोहरुङ जाति – कोड ( १२९ )
केन्द्रीय तथ्यांक विभागले आदिवासीलाई नयाँ जाति बनाएर जाति बन्ने होइन र जाति कोड दिँदैमा वैधानिक हुने होइन । जाति कोड दिने र नयाँ जाति निर्धारण गर्ने काम त आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको दायरामा पर्दछ । तर जानीजानी राज्य सत्ताले राई जातिलाई सूचीकरणको निहुँमा टुक्राउने कोसिस गरेकाे देखिन्छ । अर्कोतिर, प्रतिष्ठितको उपाध्यक्ष गोकुल घर्ती मगर भन्नुहुन्छ “भाषाको कारणले मात्र जाति बन्दैन, सूचीकरणमा जाने साथीहरुले प्रतिष्ठानसँग लविङ गर्ने, राजनीतिक दलसँग लविङ गर्ने र मानवअधिकारकर्मीसँग लविङ गर्ने” गरेको बताउनुहुन्छ ।
राई जाति
राई जातिको लिखित इतिहास २ हजार बर्ष पुरानो पाइन्छ । आर्कोतिर बायुङ राईहरुको मुन्धुममा पनि ढेमु राई, सन्तु राई भनेर पनि आउँछ । अरु राईहरुको मुन्धुममा र मातृभाषामा पनि राई शब्द प्रयोग हुन्छ । राई जाति constructive परिचय तथा नाम हो । राई शब्द खसकरण भएको छ भन्ने आधार पर्याप्त पाइँदैन । राई जातिबाट चैटिएर सूचीकरणमा जाने सुचिकरण टोलीहरुले राई शब्दलाई बिर्सिले कोसिस गर्दैछन् । तर जसजसले राई जातिको बिरोध गर्छन्, तिनीहरुले नै राईको नागरिकता बोकेर देशपरदेश गएको आएको र जागिर खाएको देखिन्छ । राईको नागरिकता बोकेर राई जातिको धुमधाम बिरोध गर्दैछन् । राईको नागरिककता बोकेर विभिन्न संघसंगठनमा भाग लिएको देखिन्छ ।
किरात
किरात पनि constructive नाम तथा पहिचान हो । गजबकाे कुरा के देखिन्छ भने जोजो राई जातिबाट चैटिएर सूचीकरणमा गए तिनीहरुले धुमधामको साथ किरात चाहिँ स्वीकार गरेका छन् । इतिहासअनुसार किरातभित्र राई जाति पनि पर्दछ । अब सूचीकरणवालाकाे के हो पारा ! कुरा बुझ्नलाई गाह्राे परेको छ । किनकी राईको बिरोध गर्ने किरातको नगर्ने ! राई भन्दा किरात हजारौं बर्ष पुरानो नाम हो । राईको बिरोध गर्नेले किरातको पनि बिरोध गर्नु आवश्यकता देखिन्छ । किरात स्वीकार गर्नेले राई पनि स्विकार्नु उपयुक्त देखिन्छ । सूचीकरणे टोलीले यसरी नै समाजलाई बिचल्लीमा पारेको पाइन्छ ।
डा. हर्क गुरुङका अनुसार
बौद्धिक व्यक्तित्व डा. हर्क गुरुङले २०६० सालतिर भन्नुहुन्थ्याे “हामी आदिवासीहरु सचेत हुनुपर्ने समय आएको छ । किनकी राज्य सत्ताले हामीलाई चिनी छरिदिएको छ । यो चिनी हाम्रो लागि हानिकारक हुनेछ । यो चिनी आईएनजिओ र एनजिओमार्फत बितरण भएको छ” । वास्तवमा जातिको नाममा अनुदान, राहत र भत्ता दिएको हुनाले भटाभट नयाँ नयाँ जातीय संघसंगठन स्थापना गरियो । बाँडिएको राहत र भत्ताले के कति आदिवासीको आमूल परिवर्तन भयो, त्यो थप अध्ययन हुन बाँकी छ ।
अन्त्यमा
आदिवासी हुँ भन्छ्न् चैटिएर गएको नयाँ जाति सूचीकरणवालाहरु । तर आधिकारिक तथ्री र प्रमाणलाई बेवास्ता गरेको देखिन्छ । इतिहास अध्ययन गर्दा त तिनीहरुको पनि पुर्खा त राजा थिए र जमिन्दार थिए । आज आएर धेरै पुस्तापछि त्यो राजाको सन्तान त गुलियोमा भुलियो भएको देखिन्छ । राज्य सत्तासँग भिक मागेको, आरक्षण मागेको र अनुदान मागेको देख्दा आश्चर्य लाग्छ । पुर्खाको बिरासत, पसिना र रगतले आफ्नो इतिहास निर्माण गरेको पनि आज आएर बालुवामा पानी हाले बराबर भएको जस्तो महसुस हुन्छ । नाति पनातिकाे पालोमा राहत मागी खाने भए ।
(लेखक ज्ञान बायुङ राई इतिहास अध्येता तथा किरात बायुङ राई सुम्निखिमकाे अध्यक्ष हुन् ।)
राईहरु एक हो भने भाषा किन फरक भयो