प्रतिमा सिलवाल

एक साताअघि मात्रै चौरासी पूजा सकेका चितवनका पहिलो सभापति कृष्णलाल सापकोटा आज युवाझैं फुर्तिलो देखिनु भयो ।

उहाँसँगै चितवनका तीन पाका काँग्रेस नेता केन्द्रको प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुरको मेयरको उम्मेदवार बनाउने निर्णयको विरुद्धमा विगुल फुक्दै बागी उम्मेदवारी दिन आउनु भएको हो ।

बागी उम्मेदवारचाहिँ यो चैतमा ६८ वर्ष पुग्नु भएका जगन्नाथ पौडेल हुनुहुन्छ । उहाँलाई अघि लगाएर पाका कांग्रेसीसहितका नेता कार्यकर्ता चारतारे झण्डा सहित निर्वाचन कार्यालय पुग्नुभयो । र उम्मेदवारी दर्ता गराउनुभयो ।

दर्ता सकेपछि कृष्णलाल सापकोटाले भन्नुभयो, “उमेर बुढो भए पनि विवेक बुढो भएको छैन ।”

भरतपुरमा गठबन्धन भए काँग्रेसले पाउनुपर्ने अडान राख्दै आउनुभएका सापकोटा आफै उम्मेदवार बन्न तयार हुनु भएको थियो ।

“मभन्दा कम उमेरका अलि प्रचार प्रसार गर्न सक्ने नेता पाएँ,” कृष्णलाल सापकोटाले भन्नुभयो, “भरतपुरमा काँग्रेस जोगाउन उहाँको प्रस्तावक बन्ने निर्णय गरेँ ।”

जगन्नाथ पौडेललाई अघि लगाउनेमा अर्का व्यक्ति टीकाराम न्यौपाने नेपाली काँग्रेस चितवनका पूर्व सभापति हुनुहुन्छ ।

न्यौपाने पनि ७३ वर्ष भइसक्नुभयो । उहाँलाई चितवनमा माओवादीका लागि काँग्रेस “सकिनु हुँदैन” भन्ने लागेको छ ।

टीकाराम न्यौपानेले नेपाली काँग्रेसबाट पञ्चायतको विरुद्ध लड्दा पटक पटक जेल भोग्नुभयो । जीवन नै दाउमा लागेर आफूले यौवनावस्थादेखि बगाएको पसिना आजसम्म पनि उत्तिकै बगेको बताउनुहुन्छ न्यौपाने ।

न्यौपानेले भन्नुभयो, “रुख चिन्ह नभएको मेयर भएकोले त्यहि खिलापमा हामीले उम्मेदवार खडा गरेको हौँ ।”

त्यसो त निर्वाचन आयोगले महानगर जतिमा उम्मेदवार बाहेकको चुनाव चिन्ह नै नभएको मतपत्र छाप्ने भएको छ ।

भरतपुर महानगरपालिकाको मतपत्रमा पनि चुनाब चिन्ह रुख हुने छैन । यद्यपि सिम्बोलिक रुपमा भए पनि पार्टीको उम्मेदवार खडा गरेको दाबी उहाँले गर्नुभयो ।

उहाँहरूसँगै उभिनु भयो, एकैछिन पनि उभिन नसक्ने समस्या भएका नेपाली काँग्रेसका पूर्व सांसद ८४ वर्षका भीमबहादुर श्रेष्ठ ।

सापकोटा र न्यौपाने झैँ श्रेष्ठले पनि २०१७ सालदेखि नेपाली काँग्रेसमा लागेर पञ्चायतको विरुद्ध बिद्रोह गर्नुभयो ।

पटक पटक जेल नेलसँगै ३३ वर्षे ज्यान मुद्धा पनि खेप्नुभयो । आज परिस्थिति यस्तो आयो की पार्टीमा लाग्दा पञ्चायतको विरुद्धमा उभिएका यी तीन नेता आज पार्टीकै विरुद्ध खडा हुनुपर्ने भयो ।

यो सायद सत्ताका लागि इमानजमान सबै बेच्ने बेला आएकाले होला । तर यी तीन बुढासँगै आएका जमात आफ्नो इमानजमान बेच्न तयार भएका जस्ता देखिदैनन् ।

यसरी आउने कसैलाई पनि पार्टीले कारबाही गर्ने डर छैन । यद्यपि पार्टीको चुनाव चिन्है हटाएर उम्मेदवार बनाउन नसक्ने बटमलाइन सहित श्रेष्ठले हिजोदेखि फोन अफ गरेर बस्नुभएको छ ।

भीमबहादुर श्रेष्ठ भन्नुहुन्छ, ‘पार्टीले ज्यान मुद्धा लगाउन सक्दैन, त्यो बाहेकको के कारबाही गर्ला ?’

स्वतन्त्र समाचार